logo
Blog single photo
September 14 2021

प्रिपेड तथा डेबिट कार्डबाट हुने कारोबारको नयाँ सीमा कायम

बैंक खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तथा शुल्क सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । बैंकले मंगलबार ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८’ जारी गरी विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तोकेको हो । 

राष्ट्र बैंकका अनुसार विभिन्न प्रिपेड तथा डेबिट कार्डको प्रयोग गरी हुने कारोबारको सीमा तोकेको छ । प्रिपेड कार्डबाट प्रति कारोबार १० हजार रुपैयाँ सम्म रकम झिक्न पाइनेछ । त्यस्तै एक दिनमा २० हजार रुपैयाँ सम्म र एक महिनामा २ लाख रुपैयाँसम्म नगद झिक्न पाइनेछ । 

डेबिट कार्डको प्रयोग गरी प्रतिकारोबार २५ हजारसम्म झिक्न पाइने छ । त्यस्तै एक दिनमा एक लाख रुपैयाँ र एक महिनामा ४ लाख रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था गरेको छ । 

बैंक तथा वित्तीय संस्थाहरूले प्रिपेड कार्ड जारी गर्दा प्रति ग्राहक अधिकतम एक लाख रुपैयाँ र कार्ड जारी गर्न अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले अधिकतम पच्चिस हजार रुपैयाँसम्मको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् ।

बैंक तथा वित्तीय संस्था तथा कार्ड जारी गर्न अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले जारी गरेको एनएफसी कार्डमार्फत प्रति कारोबार अधिकतम पाँच हजार रुपैयाँसम्मको विद्युतीय कारोबार गर्न सकिने व्यवस्था गर्नुपर्नेछ । सोका लागि कारोबार संख्या र जोखिम न्यूनीकरण गर्ने व्यवस्था संस्था स्वयंले निर्धारण गर्नुपर्नेछ ।

ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिल बमोजिमको रकम कार्डमार्फत सम्बन्धित व्यावसायिक फर्मको खातामा भुक्तानी गर्दा उपर्युक्त अधिकतम सीमाले बाधा पुगेको मानिने छैन ।

सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइने छैन । तर, ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न बाधा नहुने निर्देशनमा उल्लेख छ । 



क्रेडिट कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहँुदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बंैकमा जम्मा गरी समयावधि अगावै बुँदा तोकिएको सीमासम्मको नगद झिक्न बाधा नहुने पनि बैंकले स्पष्ट पारेको छ । 

बैंक तथा वित्तीय संस्थाहरूले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको कारोबार सीमा घटाउन यस्तो व्यवस्थाले बाधा नपु¥याउने पनि बैंकले स्पष्ट पारेको छ । 

Top