logo
Blog single photo
October 17 2021

यस्तो छ दक्षिण एसियाली राष्ट्रहरुले अवलम्बन गरेको विदेशी विनिमय दर प्रणाली

बैंक खबर । दक्षिण एसियाली क्षेत्रमा विविध किसिमको विनिमय दर प्रणाली रहेको छ । भारतमा परिवर्तनशील विनिमय दर प्रणाली छ भने अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्कामा घिस्रिने (Crawling Peg) प्रकृतिको विनिमय दर प्रणाली अभ्यासमा रहेको अन्तर्राष्ट्रिय मुद्राकोषले उल्लेख गरेको छ । 

मालदिभ्स र पाकिस्तानमा भने विनिमय दरलाई स्थिरीकरण गर्ने व्यवस्था हुदै आएको देखिन्छ । नेपाल र भुटानले स्थिर विनिमय दर प्रणाली अभ्यास गरेका छन् । 

मौद्रिक अङ्कुशको रुपमा भारतमा लक्षित मुद्रास्फिति छ भने अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्कामा अमेरिकी डलरसँगको विनिमय दर रहेको छ । नेपाल र भुटानले भा.रु.सँगको स्थिर विनिमय दर प्रणालीलाई मौद्रिक अङ्कुशको रुपमा लिएका छन् । पाकिस्तानमा भने बहुसूचकको आधारमा मौद्रिक नीति सञ्चालन गर्ने व्यवस्था छ । 

श्रीलङ्का र पाकिस्तान विनिमय दर प्रणाली सुधार गर्न सक्रिय रुपमा लागिपरेको देखिन्छ । यी दुई देशहरु भारतको जस्तै लक्षित मुद्रास्फितिमा आधारित मौद्रिक नीतिको ढाँचा निर्माणका गृहकार्यमा छन् । 

भारतले पछिल्लो समयमा अभ्यासमा ल्याएको परिवर्तनशील विनिमय दर र लक्षित मुद्रास्फितिमा आधारित मौद्रिक प्रणालीले राम्रो नतिजा दिएको देखिन्छ । पाकिस्तान र श्रीलङ्कामा विनिमय दरलाई बारम्बार समायोजन गर्ने प्रवृत्ति देखिएकोले समग्र आर्थिक व्यवस्थापनमा समस्या देखिएको छ । 

नेपाल र भुटानमा स्थिर विनिमय दर प्रणालीले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मद्दत पु¥याएको जस्तो देखिन्छ । 

footer


विदेशी विनिमय दर प्रणालीको चयनः विकल्पहरु 
आर्थिक उदारीकरणको स्थितिलाई यथावत कायम राख्ने हो र विद्यमान आर्थिक विशेषताहरुलाई आधार मान्ने हो भने हाल रहेको स्थिर विनिमय दर प्रणाली नेपालको लागि उपयुक्त देखिन्छ । 

विप्रेषण आप्रवाहले नेपालको विद्यमान विनिमय दर प्रणाली जोगाउन मद्दत पु-याएकै छ । तर पन्ध्रौ योजनामा उल्लेख भए झैं यदि पूँजी खाता क्रमशः परिवत्र्यता बनाउँदै लगिने हो भने विद्यमान विनिमय दर प्रणालीको विकल्पको खोजी र तयारी थाल्नु पर्ने हुन्छ । 

विनिमय दर प्रणाली विकसित (Evolve) हुने भएकाले पनि तयारी चाहिन्छ । पन्ध्रौ योजनामा उल्लेख भए झैं विनिमय दर निर्धारण प्रणालीलाई पुनरावलोकन गर्ने हो भने तीन चरणमा ४ विकल्पमा काम हुने गरी तयारी सुरु गर्नुपर्ने हुन्छ । 

पहिलो चरणमा स्थिर विनिमय दर प्रणालीलाई यथावत कायम राख्दै नेपालको वित्तीय क्षेत्रलाई विश्व वित्तीय क्षेत्रसँग एकाकार (पुँजी खाता क्रमशः परिवत्र्य) गर्न आवश्यक पर्ने ऐन कानूनहरुको संशोधन तथा निर्माणकार्य अगाडी बढाउनु पर्ने हुन्छ । राजनीतिक सहमति जुटाउनु पर्ने भएकाले यो कार्य सम्पन्न गर्न दुई वर्ष तोकिनु पर्ने हुन्छ । 

दोस्रो चरणमा पूँजी खातालाई क्रमशः खुकुलो बनाउने कार्य अगाडी बढाउनु पर्छ । यही चरणमा विद्यमान विनिमय दर प्रणालीको सङ्क्रमणकालीन विकल्पको रुपमा मुद्रा डालो, क्रवलिंग पेग र विनिमय दर करिडोर जस्ता ३ विकल्पहरुमध्ये एउटा चयन गरी लागु गर्नु पर्ने हुन्छ । 

तेस्रो चरणमा विद्यमान विनिमय दर प्रणालीको अन्त्य गरी परिवर्तनशील विनिमय दर प्रणाली लागु गर्नु पर्छ । दोस्रो चरणमा तयारी गरेको लक्षित मुद्रास्फिति प्रणाली मौद्रिक अङ्कुशको रुपमा कार्यान्वयनमा ल्याउनु पर्छ ।

राष्ट्रिय योजना आयोगको विदेशी विनिमय दर निर्धारण प्रणाली अध्ययन प्रतिवेदनबाट

Top