बीमा समितिले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार ३४.५१ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका देखिएको छ ।
बीमा खबर । नेपालमा साढे ३४ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन् । बीमा समितिले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार ३४.५१ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका देखिएको छ ।
यो तथ्याङ्क जीवन बीमा कम्पनीहरुले जारी गरेको लघु र म्यादी जीवन बीमालेखमा आधारित छ । गत वर्षको चैतमा यस्तो तथ्याङ्क २४.५२ प्रतिशत रहेको थियो । यो अनुसार एक वर्षमा १० प्रतिशत विन्दुले सुधार देखिएको छ ।
प्रतिवेदन अनुसार चैत मसान्तसम्म ६१ लाख ७८ हजार ५ सय ६२ वटा म्यादि र लघु म्यादि जीवन बीमालेख जारी भएका छन भने बैदेशिक रोजगार बीमालेख संख्या ८ लाख ५२ हजार ८ सय २७ छ ।
म्यादि, लघुम्यादि र बैदेशिक रोजगार जीवन बीमालेख बाहेकका बीमालेखहरु ४७ लाख ६० हजार ३ सय ९ वटा जारी भएका छन् । कु्ल जारी भएका बीमालेखको संख्या १ करोड १७ लाख ९१ हजार ६ सय ९८ रहेको छ ।
यो अवधिमा जीवन बीमालेखमा ४१.४८ प्रतिशतले सुधार देखिएको छ । गत वर्ष चैतमा बीमा कम्पनीहरुले जारी गरेको बीमालेखको संख्या ८३ लाख ३४ हजार ५ सय ३४ थियो ।
निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेखमा भने गिरावट आएको छ । तथ्याङ्क अनुसार गतवर्ष भन्दा यसपटक ३.०८ प्रतिशतले बीमालेख घटेको छ ।
गतवर्ष चैत मसान्तमा २२ लाख ४४ हजार ६ सय १६ बीमालेख जारी भएकोमा यसपटक चैत मसान्तमा २१ लाख ७५ हजार ४ सय १४ वटा पोलिसी जारी भएका छन् ।