logo
Blog single photo
May 19 2020

नेपालको आर्थिक वृद्धि २.३ प्रतिशत हुने अनुमान, पर्यटन र निर्माण क्षेत्रको वृद्धि ऋणात्मक

अर्थतन्त्र । आर्थिक वर्ष २०७६/०७७ मा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङ्क विभागले प्रारम्भिक अनुमान गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को प्रभावका कारण चालु आर्थिक वर्षमा आर्थिक वृद्धि न्यून रहने प्रक्षेपण विभागले गरेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब २ महिना यता लकडाउन गरेपछि अर्थतन्त्रका सबै क्रियाकलाप ठप्प भएका छन् । जसको असर देशको आर्थिक वृद्धिमा देखिन लागेको हो । 

कोभिड–१९ को प्रभावका कारण खानी तषा उत्खनन, उत्पादन, निर्माण, होटेल तथा रेष्टुरेन्ट एवम् यातायात उपक्षेत्रको आर्थिक वृद्धि ऋणात्मक रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्ष कृषि क्षेत्रको वृद्धि २ दशमलव ६ प्रतिशत, उद्योग क्षेत्रको ३ दशमलव २ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि २ प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७६/०७७ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि तर्फ २७ दशमलव ६ प्रतिशत, उद्योग तर्फ १४ दशमलव ३ प्रतिशत र सेवा क्षेत्र तर्फ ५८ दशमलव १ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान छ । 



आर्थिक वर्ष २०७६/०७७ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको १८ दशमलव १ प्रतिशत रहने अनुमान छ । यसैगरी कुल स्थिर पुँजी निर्माण कुल गार्हस्थ्य उत्पादनको २८ दशमलव १ प्रतिशत, कुल पूँजी निर्माण ५० दशमलव २ प्रतिशत र कुल राष्ट्रिय वचत ४६ प्रतिशत रहने अनुमान छ । 

प्रदेशगत रुपमा हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा सूदुरपश्चिम प्रदेशको सबैभन्दा वढी ४ दशमलव १ प्रतिशत र वागमती प्रदेशको सबैभन्दा कम १ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा वागमती प्रदेशको अंश सबैभन्दा बढी ३५ दशमलव ८ प्रतिशत एवम् कर्णाली प्रदेशको सबैभन्दा न्यून ४ दशमलव ३ प्रतिशत रहने अनुमान छ ।

Top