विदेशी विनिमय दर प्रणालीले देशको अर्थतन्त्रमा कस्तो असर पार्छ ? 

विदेशी विनिमय दर प्रणालीले देशको अर्थतन्त्रमा कस्तो असर पार्छ ? 

बैंक खबर । विदेशी विनिमय दर प्रणालीले अर्थतन्त्रमा पार्ने प्रभाव समष्टिगत र क्षेत्रगत गरी दुई किसिमले विश्लेषण गर्न सकिन्छ । 

विदेशी विनिमय दर प्रणालीको समष्टिगत अर्थतन्त्रमा प्रभाव मुद्रास्फिति, आर्थिक वृद्वि र मुद्रा सङ्कट जस्ता आर्थिक तथा वित्तीय स्थितिको आधारमा विश्लेषण गर्न सकिन्छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत प्राज्ञिक समुदायबाट भएका अध्ययनले विनिमय दर प्रणाली अवलम्बन गरेका अधिकांश मुलुकरुमा मुद्रास्फिति न्यून रहेको देखिएको छ । 

नेपालमा पनि मुद्रास्फिति दर अपवाद बाहेक एकल अङ्कमा रहनुमा स्थिर विनिमय दर प्रणालीको महत्वपूर्ण भूमिका रहेकाले समेत नेपालले पछिल्लो समय गरिवी न्यूनीकरणमा सफलता हासिल गरेको छ । 

कतिपय विकासोन्मुख मुलुकहरुमा नाममा स्थिर विनिमय दर प्रणाली तर बारम्वार मुद्रा अवमूल्यन गरिरहने प्रवृत्तिका कारण उच्च मुद्रास्फितिको जोखिम व्यहोर्नुपर्ने उनीहरुको अनुभवबाट नेपालले पाठ सिकेर २०४९ यता भा.रु.सँगको ने.रु. को स्थिर विनिमय दर यथावत राखेको हो । 

विदेशी विनिमय दर प्रणालीको आर्थिक वृद्धिमा अप्रत्यक्ष प्रभाव पार्ने कारक पुँजी निर्माण अनुपात बढे तापनि नेपालको आर्थिक वृद्धि उच्च तथा दिगो रहन सकेको छैन । स्थिर विनिमय दर प्रणालीले मुलुकमा उपलब्ध साधनको कुशल वाडफाँटमा मद्दत नपुर्याएकाले उत्पादकत्व बढ्न नसकेको हुदा उच्च पूँजी निर्माणले आर्थिक वृद्धि बढाउन नसकेको विश्लेषण हुने गरेको छ । 

अन्तर्राष्ट्रिय व्यापार बढेको छ, तर वस्तु निर्यात अपेक्षाकृत बढ्न सकेको छैन । विप्रेषण आप्रवाह समेतको कारणले स्थिर विनिमय दर प्रणाली हुँदाहँुदै नेपालले पछिल्लो समय मुद्रा सङ्कट (विदेशी विनिमय सङ्कट) को स्थिति व्यर्होनु परेको छैन ।

चुलिँदो व्यापार घाटाका अतिरिक्त कृषि र पर्यटन क्षेत्रमा अपेक्षाकृत सुधार नदेखिनुमा स्थिर विनिमय दरलाई कारणको रुपमा लिने र विश्लेषण हुने गरेको देखिन्छ ।

विदेशी विनिमय दर निर्धारण प्रणाली रोजाईका सैद्धान्तिक आधार

नेपालको स्थिर विनिमय दर प्रणालीको चयनमा रोवर्ट मुण्डेलले प्रतिपादन गरेको अप्टिमम करेन्सी एरिया सिद्धान्तले प्रमुख भूमिका खेलेको देखिन्छ । 

रोवर्ट मुण्डेलले उल्लेख गरेका विशेषताहरुलाई आधार लिई अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत दातृ निकायहरुले हाल नेपालमा स्थिर विनिमय दर प्रणाली उपयुक्त हुने सुझाव दिंदै आएका छन् । 

रोवर्ट मुण्डेलको अर्को चर्चित ट्राइलेमा (Trilemma) अनुसार क्यापिटल मोविलिटी नियन्त्रणको अवस्थाले पनि नेपालको विद्यमान विनिमय दर निर्धारण प्रणालीको लागि भूमिका खेलेको छ । त्यसैगरी शासकीय क्षमता, वित्तीय क्षेत्र विकासको अवस्था र डुइगं विजनेश सूचकाङ्क (Doing Business Index) मा नेपालको स्थितिले पनि विनिमय दर निर्धारण प्रणाली चयनमा भूमिका खेलेको देखिन्छ । 

आर्थिक विशेषता, वित्तीय क्षेत्र नीति र राजनैतिक तथा ऐतिहासिक मनोविज्ञान नेपालको विनिमय दर निर्धारण प्रणालीका प्रमुख कारकतत्वको रुपमा रहेका छन् ।

All financial information at your fingertips.


शेयर गर्नुहोस