ऋणीबाट असुल हुन बाँकी ब्याजको ५ प्रतिशत असुलेपछि लघुवित्तले कर्जा पुनरसंरचना गर्न पाउने

ऋणीबाट असुल हुन बाँकी ब्याजको ५ प्रतिशत असुलेपछि लघुवित्तले कर्जा पुनरसंरचना गर्न पाउने

बैंक खबर । लघुवित्त वित्तीय संस्थाहरुले पनि असुल हुन बाँकी ब्याजको न्युनतम पाँच प्रतिशत असुल गरेपछि ऋणीको कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा व्यवस्था भए अनुरुप बुधबार जारी गरेको निर्देशिका अनुसार लघुवित्तहरुले कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न पाउने भएका हुन् । 

यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्नेछ । २०७९ चैत्र मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिनेछ । 

पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्थापनि राष्ट्र बैंकले गरेको छ । कर्जा पुनरतालिकीकरण र/कर्जा पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत ब्याज रकम असुल उपर भएको हुनुपर्नेछ । कर्जा पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन पाइने छैन । उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिनेछ । 

पुनरतालिकीकरण र/वा पुनरसंरचना गरेवापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क/हर्जाना लिन पाइने छैन । पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात् मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ । 

पुनरतालिकीकरण र/वा पुनरसंरचना पश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट पछाडी हटने अवस्था आएमा पछाडी हटिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्नेछ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न पाइने छैन । पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको कर्जा असल बर्गमा बर्गीकरण भएपश्चात् मात्र उपरोक्त खातामा लेखांकन गरिएको रकम सञ्चित मुनाफा हिसाबमा समायोजन गर्न सकिनेछ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस