बजेट भनेको के हो ? कसरी गरिन्छ तर्जुमा ? हेर्नुहोस बजेटको इतिहास 

बजेट भनेको के हो ? कसरी गरिन्छ तर्जुमा ? हेर्नुहोस बजेटको इतिहास 

अर्थतन्त्र । सामान्य अर्थमा बजेट भन्नाले कुनै खास आर्थिक वर्षको लागि सरकारको आम्दानी र खर्चको विवरण सहित घोषणा गरिने आर्थिक दस्तावेज हो । बजेटको परिभाषालाई यतिमै सीमित भने छैन । यो सरकारको विस्तृत आर्थिक योजना हो । अझ विस्तृतमा भन्ने हो भने राजनीतिक, आर्थिक र सामाजिक घोषणापत्र नै बजेट हो । 

अर्को भाषामा सरकारको आय र व्ययको अनुमानित विवरण नै बजेट हो । कुनै निश्चित वर्षका लागि तर्जुमा गरिएको आम्दानी र खर्चको योजनाबद्ध विवरणलाई बजेट भनिन्छ । अर्थात बजेट राजस्व र व्ययको अनुमानको अतिरिक्त राष्ट्रिय कोष सञ्चालनको अख्तियारी प्रदान गर्ने दस्तवेज पनि हो । 

नेपालमा सरकारको बजेट कार्यपालिकाले तयार गर्दछ, व्यवस्थापिकाले स्वीकृत गर्दछ र पुनः कार्यपालिकाले कार्यान्वयन गर्दछ । 

वास्तवमा बजेट विगतको आर्थिक अवस्थाको अभिलेखन, चालु आर्थिक वर्षको आर्थिक स्थितिको चित्रण र आगामी आर्थिक वर्षको आर्थिक योजनाको प्रक्षेपण हो । त्यसैले बजेटलाई कुनै पनि देशको सार्वजनिक आय र व्ययको ऐनाको रूपमा लिइन्छ ।

बजेटको इतिहास
बजेट ल्याटिन भाषाको बेग (Bauge) र फ्रेन्छ भाषाको बगेट्टी (Budgetee) बाट आएको हो । फ्रेन् भाषामा बगेट्टी को अर्थ छालाको सानो थैलो भन्ने हुन्छ । विश्वमा सरकारी बजेटको सुरुवात बेलायतबाट भएको हो । सन् १७३३मा बेलायतका तत्कालीन प्रधानमन्त्री रोवर्ट वालपोलले सर्वप्रथम बजेट प्रस्तुत गरेका थिए । यही प्रणालीको निरन्तरता पछि अन्य युरोपियन देशहरुले पनि दिएको पाइन्छ । अमेरिकामा भने २० औं शताब्दीदेखि मात्र बजेट ल्याउन थालिएको हो । भारतमा सन् १९४८ देखि बजेट सार्वजनिक गर्ने व्यवस्थाको थालनी भएको पाइन्छ ।

नेपालमा वि.सं. २००८ माघ २१ गते तत्कालिन सरकारले प्रस्तुत गरेको राष्ट्रिय बजेट नै पहिलो भएको मानिन्छ । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले नेपालको पहिलो बजेट प्रस्तुत गरेका थिए । 

नेपालमा सरकारको बजेट व्यवस्थित गर्न संवैधानिक एवं कानूनी व्यवस्था एवं अर्थ मन्त्रालयको जिम्मेवारी प्रस्ट गरिएको छ । 

बजेट निर्माण तयारी
नेपालमा जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था छ । बजेट निर्माण गर्ने सवालमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, अन्य सम्बन्धित मन्त्रालयहरु, जिल्ला विकास समिति, नगरपालिका, गाँउ विकास समिति, स्थानीय तहको लागि स्थानीय निकायको सहभागीता हुन्छ । 

आर्थिक क्षेत्रका विज्ञ, योजनाकार, निजी क्षेत्र, मिडियासमेतले विभिन्न कुराहरुलाई उजागर गरेर बजेट निर्माण कार्यमा सहयोग गरिरहेका हुन्छन् । हरेक सरकारी संघसंस्था तथा निकायहरु बजेट निर्माणमा लागिरहेका हुन्छन् । त्यस्तै राष्ट्र बैंकले पनि बजेट कर्यान्वयनमा सघाउ पुग्नेगरी मौद्रीक नीति तर्जुमा गरी सहयोग गर्दछ । 

बजेटको विशेषता
बजेट सरकारको निश्चित अवधी आम्दानी र खर्चको जानकारी दिने संयन्त्र हो ।
बजेट सरकारको वार्षिक योजना तथा कार्यक्रम हो ।
बजेट सरकारको वित्तीय नीतिको रुप पनि हो ।
बजेट आर्थिक प्रशासनको पथ प्रदर्शक हो ।
बजेट सरकारको एक वर्षको आय वर व्ययको अनुमानित विवरण हो ।
मूलतः बजेट कार्यपालिकाले तयार गर्दछ र व्यवस्थापिकाले स्वीकृत गर्दछ ।

बजेटको उद्देश्य
देशको आर्थिक अवस्थाको चित्रण गर्नु
आवधिक योजालाई कार्यान्वयन गर्नु
खर्च गर्ने कानूनी अधिकार प्राप्त गर्नु
श्रोतको परिचालयन र उपयोग गर्ने
राजस्व संकलनमा दक्षता प्राप्त गर्नु ।
सरकारी व्ययमा नियन्त्रण गर्नु ।
योजनाको संचालन गर्न ।
आर्थिक नियन्त्रण गर्न ।
देशको आर्थिक अवस्थाको सार्वजिकीकरण गर्ने ।

बजेटका प्रकार
विभिन्न आधारमा बजेटलाई विभिन्न प्रकारमा विभाजन गर्न सकिन्छ ।
१. आय र व्ययबीचको सम्बन्धको आधारमा : यस आधारमा सन्तुलित बजेट, घाटा बजेट र बचत बजेट तर्जुमा गरिन्छ । 
२. कार्य वा उद्देश्यको आधारमा : यस आधारमा कार्यसम्पादन बजेट, कार्यक्रम बजेट, शून्यमा आधारित बजेट र लाइन आइटम बजेट तर्जुमा हुन्छ । 
३. क्षेत्रगत खर्चको आधारमा : साधारण वा चालु बजेट, पुँजीगत बजेट र वित्तीय व्यवस्थापन गरी बजेट तर्जुमा । 
४. यसैगरी गरिबी न्यूनीकरण बजेट, लैंगिक उत्तरदायी बजेट, सधारण र विधास बजेट, चालु र पूँजीगत बजेट, आर्थिक र कार्यमरुलक बजेट, संसदीय र कार्यकारी बजेट, एजेन्सी बजेट लगायतमा पनि बजेटको वर्गीकरण गर्न सकिन्छ ।  

बजेटसाथ प्रस्तुत गरिने विधेयकहरु
१. आर्थिक विधेयक : आम्दानीको सम्बन्धमा 
२. विनियोजन विधेयक : खर्चको सम्बन्धमा 
३. राष्ट्र ऋण उठाउने विधेयक : घाटा बजेट परिपूर्तीको सम्बन्धमा
४. ऋण तथा जमानत विधेयक : अन्य संस्थानहरुलाई ऋण चाहिएको खण्डमा सरकार जमानत बस्ने सम्बन्धमा
५. पेश्की खर्च विधेयक
 

All financial information at your fingertips.


शेयर गर्नुहोस