१० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक


बैंक खबर । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले फागुन १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्रको नाम ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’  हो।

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गर्न लागेको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ४२ करोड ४० लाख रुपैयाँ) बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री हुनेछ । बाँकी ४० प्रतिशत (१ अर्ब ६१ करोड ६० लाख रुपैयाँ) बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत (८० हजार ८०० कित्ता) सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशन बन्द छिटोमा फागुन ४ गते हुनेछ भने ढिलोमा फागुन १५ गते हुनेछ।

ऋणपत्रका लागि बैंकले गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ ए’ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा सुरक्षित रहेको संकृत गर्छ । 

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

All financial information at your fingertips.

शेयर गर्नुहोस