सेयरबजारमा गिरावट, नेप्से साढे ३० अंकले घट्यो


सेयर खबर । सेयरबजार मंगलबार घटेको छ । नेप्से परिसूचक ३० दशमलव ५६ अंकले घटेर दुई हजार ७० दशमलव ५९ को बिन्दुमा कायम भएको छ । चार अर्ब ६६ करोड ७१ लाख ७९ हजार तीन सय चार बराबरको एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता सेयर किनबेच भएको छ । 

नेपाल राष्ट्र बैंकले सोमबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर बजार सम्बन्धी नीतिहरुमा कुनै परिवर्तन नगरेपछि लगानीकर्ताले सेयरको बिक्री बढाएका छन् । लगानीकर्ताले मौद्रिक नीतिको समीक्षामार्फत सेयरसम्बन्धी कसिएका नीतिहरु खुकुलो हुने अपेक्षामा गरेका थिए तर त्यस्तो केही पनि नआएपछि बेखुशी भएका हुन् । 

राष्ट्र बैंकले अधिकांश व्यवस्थालाई यथावत राखे पनि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने र संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरेको छ । 

मंगलबार १३ वटै उपसमूह घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह २.४० प्रतिशतले र वित्त समूहको उपसूचक २.२० प्रतिशतले घटेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले ९.७० प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३२ करोड ५० लाख ४५ हजार ७२ बराबरका चार लाख ७८ हजार पाँच सय ६० कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४८ कम्पनीमध्ये २०३ कम्पनीको सेयरमूल्य घटेको छ । बजार घटेपनि ४० कम्पनीका सेयरधनीले कमाएका छन भने ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको  छ । यसदिन लगानीकर्ताको सम्पत्ति ४८ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ३२ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस