वैदेशिक रोजगार बचतपत्र किन र कसरी निष्कासन हुन्छ ? विस्तृतमा हेर्नुहोस्


बैंक खबर । मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर– आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर (सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी) तोकी नेपाली रूपैंयाँमा जारी हुने मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो ।  

उद्देश्य 
बचतपत्र निष्कासनको प्रमुख उद्देश्य मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक वा गैर–आवासीय नेपालीले विदेशमा आर्जन गरेको रकम लगानी गर्न प्रोत्साहित गर्ने, वैधानिक माध्यमबाट विदेशी मुद्रा भित्र्याउने र देश विकासको निमित्त वित्तीय साधन जुटाउने रहेको छ । 

निष्कासन प्रक्रिया 
बचतपत्र तोकिएको अवधिभित्र OTC (Over the Counter) प्रक्रियाबाट निष्कासन गरिन्छ । 

बिक्री खुला, बन्द र निष्कासन मिति 
बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन खुला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशित गरिन्छ । 

अवधि र कुपन (ब्याज) दर
बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याज दर (Coupon Rate) नेपाल सरकारले तोकिदिए बमोजिम हुने गर्दछ । 

खरिदकर्ता 
यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैर–आवासीय नेपालीले आफु वा आफ्नो एकाघर परिवारका सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी) को नाममा खरिद गर्न सक्दछन्। मुलुक बाहिरको रोजगारीमा संलग्न भई फर्केकाले पनि फर्केको दिनको चार महिनाभित्र खरिद गर्न सक्ने व्यवस्था छ । 

खरिद गर्न सकिने रकम 
घटीमा ५ हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५ हजार रूपैंयाँले भाग गर्दा निःशेष भाग जाने अंक सम्म खरिद गर्न आवेदन दिन सकिन्छ । 

बिक्री प्रवन्धक
प्राथमिक निष्कासनको समयमा बिक्री एजेण्ट मार्फत यो बचतपत्र बिक्री गरिन्छ । 

आवेदन फारम 
बचतपत्र खरिद आवेदन फारम प्राथमिक निष्कासनको समयमा नेपाल राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । बिक्री एजेण्ट मार्फत पनि फारम उपलब्ध हुन्छ । 

आवेदन फारम पेश गर्ने स्थान 
बचतपत्र खरिद आवेदन फारम बिक्री एजेण्टका विदेश वा स्वदेशस्थित कार्यालयमा पेश गर्नु पर्दछ । 

आवेदनसाथ पेश गर्नुपर्ने कागजातहरू 
(क) आवेदनकर्ताको राहदानीको प्रतिलिपि 
(ख) कार्यरत मुलुकको भिसाको प्रतिलिपि (भारतबाहेक अन्य मुलुकमा कार्यरतका लागि मात्र) 
(ग) कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि 
(घ) पासपोर्ट साईजको दुई प्रति फोटो 
(ङ) नेपालमा खरिद गर्नुपर्ने अवस्थामा वैदेशिक रोजगार बचतपत्र खरिदको लागि प्रयोग भएको नेपाली मुद्रा बराबरको विदेशी मुद्रा वैधानिक माध्यमबाट नेपाल भित्रिएको हो भन्ने प्रमाणको रूपमा विदेशी मुद्रा सटही रसिद 
(च) विदेशी मुद्रामा खाता रहेको भए वैदेशिक रोजगार बचतपत्र खरिदमा प्रयोग भएको रकम उक्त खाता जम्मा÷खर्च भएको बैंक स्टेटमेण्ट 
(छ) विदेशमा रोजगारीमा रहेको व्यक्तिले नेपालमा रहेका एकाघर परिवारका सदस्यको नाममा बचतपत्र खरिद गर्ने भए आप्mनो माथि उल्लिखित कागजात सहित सो सदस्यको नागरिकताको प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि तथा विदेशी मुद्रा सटही गरेको रसिद 
(ज) नाबालकको नाममा खरिद गर्ने भए आप्mनो माथि उल्लिखित कागजात सहित नाबालकको नाम र जन्म मिति खुलेको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि । 
(झ) आवेदन फारममा मुलुक बाहिर रोजगारीमा संलग्न रहेको वा रोजगारीबाट फर्केको( तोकिएको समयभित्र) वा गैर–आवासीय नेपाली नागरिकले अनिवार्यरूपमा दस्तखत गरेको हुनुपर्दछ । 

बाँडफाँट 
आह्वान रकम भन्दा कम वा बराबर आवेदन परेमा माग अनुसार र आह्वान रकम भन्दा बढी रकमको लागि आवेदन प्राप्त हुन आएको अवस्थामा खुला बजार सञ्चालन समितिको निर्णयानुसार बाँडफाँट गरिन्छ । 

खण्डित अवधिको ब्याज 
बिक्री खुला अवधिभित्र वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि आवेदनसाथ रकम बुझाएको मिति देखि निष्कासन हुने मिति भन्दा अघिल्लो दिनसम्मको बचतपत्रको लागि तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज प्रदान गरिन्छ । 

दोस्रो बजार कारोबार 
नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालय वा बजार निर्माताका कार्यालयहरू मार्फत दोस्रो बजार कारोबार गर्न अर्थात आपूmसँग रहेको बचतपत्र बिक्री गर्न सकिन्छ । 

सूचना 
यो बचतपत्र निष्कासनको सूचना नेपाल राष्ट्र बैंकको वेबसाइट (www.nrb.org.np), राष्ट्रिय स्तरका दैनिका पत्रिका लगायत अनलाइन पत्रिकाहरू र वैदेशिक रोजगारको गन्तब्य मुलुकहरूबाट प्रकाशित हुने नेपाली पत्रिका मार्फत प्रकाशित गरिन्छ । 

प्रमाणपत्र 
वैदेशिक रोजगार बचतपत्र खरिदकर्तालाई तोकिएको ढाँचामा बचतपत्र प्रदान गरिन्छ । यस्तो बचतपत्र प्रमिशरी नोट वा स्टकको रूपमा आवेदन पेश भएको एजेण्ट मार्फत उपलब्ध गराइन्छ । आवेदन फारममा नै प्रमिशरी नोट लिने कि स्टक लिने भन्ने खुलाउनु पर्दछ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रदान गरिने व्यवस्था छ । 

ब्याज तथा साँवा भुक्तानी 
वैदेशिक रोजगार बचतपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिन्छ भने तोकिएको मितिमा साँवा भुक्तानी गरिन्छ । यस्तोभुक्तानी नेपाली मुद्रामा मात्र प्राप्त हुन्छ । 

ब्याज गणना विधि 
यो बचतपत्रको लागि निर्धारित ब्याज हिसाब गर्दा ३६० दिन बराबरको एक वर्ष र ३० दिन बराबरको एक महिना मानी गणना गरिन्छ । 

आयकर सम्बन्धी व्यवस्था 
वैदेशिक रोजगार बचतपत्रमा गरिएको लगानीबाट आर्जित ब्याज आम्दानीमा आयकर लाग्दछ । 

प्रयोग 
यो बचतपत्र भुक्तानी मिति अगावै यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन÷दिन पाईन्छ । अंकित मूल्यको ९० प्रतिशतसम्म कर्जा उपभोग गर्न सकिने व्यवस्था छ । 

फाइदा 
यस बचतपत्रमा लगानी गर्दा ६/६ महिनामा ब्याज पाइने, चाहेको समयमा बिक्री गर्न र धितो राखी कर्जा उपभोग गर्न सकिने, लगानी रकमको जोखिम नहुने र अप्रत्यक्ष रूपमा देश विकास कार्यमा संलग्न हुन पाइने हुन्छ । 

वैदेशिक रोजगार बचतपत्रको लागि प्रयोग हुने मुद्रा 
यो बचतपत्र खरिद गर्दा आपूm कार्यरत रहेको स्थानमा बचतपत्र खरिद गर्ने भएमा विदेशी मुद्रा (कार्यरत मुलुकको स्थानीय मुद्रा) मा रकम जम्मा गर्नु पर्दछ भने यो बचतपत्रको साँवा तथा ब्याज भुक्तानी नेपाली मुद्रामा मात्र हुने व्यवस्था छ 

All financial information at your fingertips.

शेयर गर्नुहोस