दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो
२०८२ असार ९ गते सोमबार ।
बैंकको खबर । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (असार ९ गते) देखि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको थियो । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावितका लागि निष्काशन गरेको हो । सो सेयर प्रभावित क्षेत्र गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् ।
यस्तै, सर्वसाधारणका लागि छुट्याएको सेयरमध्येबाट १० प्रतिशत अर्थात २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।
यसैगरी, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर सुरक्षित गरेको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २३ गतेभित्र आवेदन दिनु पर्नेछ।
कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २५ करोड रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष बाँकी रहेको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।