विकाश हाइड्रोपावरको अआईपीओ खुल्यो
काठमाडौं । आज (असार १८ गते) देखि विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ ।
कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री निष्काशन गरेको हो । कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँटफाँट गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ३ लाख ५४ हजार ५५० कित्ता श्रम स्वीकृती लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरुका लागि बिक्री गरेको छ ।
त्यसपछि कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
आईपीओ खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।
आजदेखि खुलेको आईपीओको बिक्री निष्काशन असार २२ गते बन्द हुने कम्पनीले जनाएको छ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा आवेदन दिने अवधि अ सार ३२ गतेसम्म लम्बिनेछ ।
आईपीओ निष्काशननका लागि इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले निर्माण गरी सञ्चालन गरेको ४.५५ मेगावाटको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख ४६ हजार ३७७ रुपैयाँ छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ९ महिना बाँकी छ।
कम्पनीको सयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।