विदेशबाट फर्कने महिलाले ५० ग्राम र पुरुषले २५ ग्रामसम्म सुनका गहना ल्याउन पाउने


अर्थतन्त्र । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले विदेशबाट आउने व्यक्तिले सुन, मोबाइल र टेलिभिजन कति ल्याउन पाउँछन भन्ने विषयमा थप प्रस्ट पारेको छ । कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी पछिल्लो व्यवस्था बारे जानकारी गराएको हो । 

कार्यालयका अनुसार विदेशबाट फर्कने महिलाले ल्याउने ५० ग्रामसम्म सुनको गहनामा भन्सार तिर्नुपर्दैन । पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन । एकजना व्यक्तिले (महसुल तिर्नु नपर्नेः महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक) थप २०० ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँछ । यस्तै गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता दिइएको छैन । 

यस्तै, विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार छ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँछ । तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पुरा गर्नुपर्छ । 

टेलिभिजन सम्बन्धमा श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । तर श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्केको भएपनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा टेलिभिजन ल्याउँदा नियमानुसारको महसुल भन्सारमा तिर्नुपर्ने व्यवस्था छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस