ब्याजदर बढ्दा सेयरबजार प्रभावित


बैंक खबर । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदाको असर सेयरबजारमा देखिएको छ । गत बिहीबार अधिकांश बैंकहरुले भदौ महिनाका लागि ब्याजदर बढाएर सार्वजनिक गरेका थिए । यहीकारण आइतबार सेयरबजार घटेको छ । नेप्से परिसूचक २१.९१ अंकले घटेर २०११.२२ विन्दुमा झरेको छ । 

कारोबारमा आएका २२७ कम्पनीमध्ये १९० कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा बजार प्रभावित भएको हो । बजार घटे पनि २९ कम्पनीका सेयरधनीले कमाएका छन भने ८ वटाको सेयरमूल्य स्थिर रहेको छ । 

बजारमा बिक्रीचाप बढेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । कुल १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार ४ सय ५९ कित्ता सेयर किनबेच भएको छ । 

लगानीकर्ताको सम्पत्ति एकैदिन ३३ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ३० खर्ब १० अर्बमा झरेको छ । 

यसदिन सबैभन्दा धेरै जलविद्युत समूह प्रभावित भएको छ । यो समूह २.३४ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै सेयरमूल्य घट्ने कम्पनी पनि जलविद्युत समूहकै छ । अपर स्याङ्गे हाइडङोपावरको सेयरमूल्य ९.०२ प्रतिशतले घटेको छ । 

जलविद्युत पछि सबैभन्दा धेरै असर होटल तथा पर्यटन समूहमा परेको छ । यो समूह १.८५ प्रतिशतले घटेको छ । यसपछि उत्पादन तथा प्रशोधन समूह १.६५ प्रतिशत, निर्जीवन बीमा १.५९ प्रतिशत, अन्य १.५७, जीवन बीमा १.२० प्रतिशतले घटेका छन् । यसबाहेक लगानी ०.९८ प्रतिशत, विकास बैंक समूह ०.९३ प्रतिशत,  लघुवित्त ०.८७ प्रतिशत, फाइनान्स ०.६४ प्रतिशत, व्यपाार ०.६० प्रतिशत, बैंकिङ ०.२८ प्रतिशत र म्युचुअल फण्ड ०.२१ प्रतिशतले घटेका छन् । 

बजार घटे पनि सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनानस लघुवित्तका सेयरधनीले ४.५७ प्रतिशत र आरएसडिसी लघुवित्तका सेयरधनीले ४ प्रतिशतले कमाएका छन् । सर्वाधिक आइएमई लाइफ इन्स्योरेन्सको ६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

विश्लेषकहरुका अनुसार ब्याजदर बढेर मात्रै नभई धेरैजसो कम्पनीको वितरणयोग्य नाफामा आएको गिरावटले बजार प्रभावित भएको छ । गत आर्थिक वर्षमा खराब कर्जा बढ्दा बैंकहरुको नाफा प्रभावित भएको छ भने अन्य कम्पनीहरुको वित्तीय विवरण पनि त्यति सन्तोषजनक देखिएको छैन । यहीकारण बजारमा दबाब परेको विश्लेषण गरिएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस