कृषि कार्यबाट ५५ प्रतिशत किसानलाई वर्षभर खान पुग्दैन, बैंक, बीमा र अनुदानमा किसानको पहुँच नै छैन 


अर्थतन्त्र । खेतीपाती गर्ने परिवार र पशुपन्छीमात्र पाल्ने परिवारलाई समेटेर नेपाल सरकार तथ्यांक कार्यालयले कृषि गणना २०७८ अर्थात सातौँ कृषि गणना सम्पन्न गरेको छ । गणनाले नेपालमा कृषि गर्ने जमिन घटेको र कृषि गर्ने जनसंख्या बढेको देखाएको छ । सिँचाइ सुविधा घटेको, खेतीयोग्य जमिन घटेको, उन्नत जातको बिउको प्रयोग बढ्दै गएको, विषादीको प्रयोग बढेको र ५५ प्रतिशत किसानलाई कृषि कार्यबाट वर्षभर खान नपुग्ने देखिएको छ ।

कृषक परिवार बढ्यो, कृषि जमिन घट्यो
२०६८ को कृषि गणनामा भन्दा २०७८ को कृषि गणनामा नेपालमा कृषक परिवारको संख्या बढेको पाइएको छ । गणना अनुसार नेपालमा ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेका छन भने एक लाख ३२ हजार परिवारले पशुपन्छीमात्र पाल्ने गरेका छन् । २०६८ सालको कृषि गणनामा ३७ लाख १६ हजार कृषक परिवारले खेतीपाती र एक लाख १६ हजार परिवारले पशुपन्छी पालन गरेका थिए ।

नेपालमा २०१८ सालमा पहिलोपटक कृषि गणना गरिएको थियो । सो वर्ष नेपालमा १५ लाख १८ हजारले खेतीपाती र २२ हजारले पशुपन्छी पाल्ने गर्दथे । ६० वर्षपछि नेपालमा खेतीपाती गर्नेको संख्या डेढ गुणा र पशुपन्छीमात्र पाल्ने परिवारको संख्या पाँच गुणाले बढेको देखिन्छ । 

साठी वर्षको अवधिमा कृषक परिवार एक सय ६८ प्रतिशतले बढेको छ भने कृषि जमिनको क्षेत्रफल जम्मा ३२ प्रतिशतले मात्रै बढेको छ । तर २०६८ को तुलनामा कृषक परिवारले चलन गरेको जग्गा १२ प्रतिशतले घटेको देखिएको छ । तर २०६८ यता खेतीपाती गर्ने परिवारको संख्या ८ प्रतिशतले बढेको छ । 

२०६८ मा ३८ लाख ३१ हजार कृषक परिवारले २५ लाख २५ हजार हेक्टर जमिनमा कृषि कार्य गर्दै आएकामा २०७८मा ४१ लाख ३० हजार कृषक परिवारले २२ लाख १८ हजार हेक्टर जमिनमा खेतीपाती गर्दै आएका छन् । 

घट्यो सिँचाइ सुविधा
२०६८ को तुलनामा २०७८ मा सिँचाइ सुविधा लिने कृषक परिवारको संख्या बढे पनि सिँचाइ सुविधा पुगेको क्षेत्रफल घटेको देखिएको छ । २०६८ मा २४ लाख ७२ कृषक परिवारले १३ लाख १३ हजार हेक्टर जग्गामा सिँगाइ सुविधा लिएकामा २०७८ मा २८ लाख ८९ हजार कृषक परिवारले १२ लाख नौ हजार हेक्टरमा सिँचाइ सुविधा लिएको देखिएको छ । 

पछिल्लो गणना अनुसार कृषक परिवारले चलन गरेको जग्गामध्ये ५५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको देखिन्छ । कुल कृषक परिवारमा ७० प्रतिशतले सिँचाइ सुविधा लिएको देखिन्छ । २०६८ मा ६५ प्रतिशत परिवारले मात्रै सिँचाइ सुविधा पाएका थिए । 

अस्थायी तथा स्थायी बालीको क्षेत्रफल
कुल कृषि योग्य जमिनमध्ये १७ लाख ३१ हजार हेक्टरमा अस्थायी कृषि बाली लगाइएको छ भने एक लाख ४५ हजार हेक्टरमा फलफूललगायतका स्थायी बाली लगाइएको छ । विगत १० वर्षमा अस्थायी बाली लगाइएको क्षेत्रफल ३ लाख ९२ हेक्टरले घटेको छ । यस अवधिमा अस्थायी चौरचरन तथा बाँझो जग्गामा क्रमशः ४५ र ९५ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा सुन्तला खेती गर्ने चलन बढ्दै गएको छ । यसअघि ६ हजार हेक्टरमा भइरहको सुन्तला खेती ५ सय हेक्टरले वृद्धि भएको छ । पछिल्लो १० वर्षमा आँपको बगैँचाको क्षेत्रफल २ हजार हेक्टरबाट बढेर २० हजार हेक्टर पुगेको छ ।

बगैचाको रुपमा लगाएका मुख्य–मुख्य स्थायी बाली आँप, केरा, सुन्तला, कागती र स्याउको क्षेत्रफल बढेको देखिएको छ । 

उन्नत जातको बिउको प्रयोग बढ्यो, नगदेमा बढी आकर्षण
कृषि गणनाले धान, गहुँ र मकै जस्ता परम्परागत आधारभूत बालीमा उन्नत जातको बिउको प्रयोग बढेको देखाएको छ । २०७८ मा १२ लाख १६ हजार हेक्टरमा धान, ६ लाख ५४ हजार हेक्टरमा गहुँ र ५ लाख ६० हजार हेक्टरमा मकै खेती गरिएको छ । २०६८ मा १४ लाख हेक्टरमा धान, ७ लाख ४९ हजारमा गहुँ, ६ लाख ७४ हजार हेक्टरमा मकै खेती गरिएको थियो । 

तरकारी बालीको क्षेत्रफल भने २०६८को तुलनामा बढेको छ । २०६८ मा भन्दा तरकारी बाली गरिने जग्गा २३ हजार तीन सय २२ हेक्टरले बढेर एक लाख सात हजार सात सय ३३ हेक्टर पुगेको छ । 

पशुपन्छीमा कुखुरा पाल्ने धेरै
२०४८ यताको तथ्यांक हेर्ने हो भने कुखुरा पालन गर्ने कृषकको संख्या अत्यधिक बढेको छ । देशभरका कृषक परिवारमध्ये १७ लाख ९९ हजारले ४ करोड ५१ लाख १८ हजार कुखुरा पालेको देखिन्छ । यसमा ५५ प्रतिशत उन्नत जातका कुखुरा पालेको पाइन्छ । 

परम्परागत गाई गोरु पालन घट्यो

पछिल्लो १० वर्षमा नेपालमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ । २०६८ को गणनाको तुलनामा २०७८ मा ५ लाख ७३ हजार कम परिवारले गाई गोरु पालेको भेटिएको छ । २०६८ मा २२ लाख ८१ हजारले गाई गोरु पालेकामा २०७८ मा १७ लाख ८ हजारले मात्रै पालेका छन् । 

यो अवधिमा गाई र गोरुको संख्या पनि १८ लाख सात सय ७१ ले घटेको छ । २०६८ मा गाई र गोरुको संख्या ६४ लाख ३० हजार रहेकामा २०७८ मा ४५ लाख ५९ हजारमा झरेको छ । 

 

विषादीको प्रयोग बढ्यो
नेपालमा केही वर्ष यता उन्नत जातका वीउ, विषादी र रासायनिक मलको प्रयोग बढेको छ । हाइब्रिड धानको प्रयोग गर्ने कृषक परिवारको संख्या ५.४ प्रतिशतबाट बढेर १६.५ प्रतिशत पुगेको छ । विषादी प्रयोग गर्ने कृषकको संख्या २९ प्रतिशतबाट बढेर ४४.५ प्रतिशत पुगेको छ । 

१४ हजार सात सय ११ परिवारले धान बालीमा अति कडा (रातो) विषादी प्रयोग गरेको बताएका छन् । ७५.९ प्रतिशतले धान बालीमा रासायानिक मल प्रयोग गरेका छन् । मकैमा ५८.६ प्रतिशत किसानले रासायनिक मल प्रयोग गर्दै आएका छन् । यस्तै गहुँमा २८.३ प्रतिशतले विषादी प्रयोग गर्छन भने ५८.५ प्रतिशतले रासायनिक मलको प्रयोग गर्छन । 

तरकारी बालीमा विषादी प्रयोग गर्ने किसानको संख्या पनि बढेको छ । गणनाअनुसार ५३.२ प्रतिशतले सुरक्षित (हरियो) ३३.२ प्रतिशतले मध्यम (निलो), १२.९ प्रतिशतले कडा (पहेलो) र ०.७ प्रतिशतले अति कडा (रातो) विषादी प्रयोग गर्ने गरेका छन् । तरकारी बालीमा रासायनिक मलको प्रयोग २३.३ प्रतिशत कृषक परिवारले गर्दै आएका छन् । 

कृषि ऋण, बीमा र अनुदानमा पहुँच नै छैन 
जम्मा ४ लाख ८३ हजार कृषक परिवारले ऋण लिएको देखिन्छ । यो संख्या कुल कृषक परिवारको १२ प्रतिशत हो । २०६८ मा यस्तो संख्या ८ लाख ३६ हजार थियो जुन कुल कृषक परिवारको २२ प्रतिशत थियो ।

कृषि कार्यका लागि ऋण आवश्यक भएका कृषक परिवारको संख्या १४ लाख १५ हजार रहेको छ । यो कुल कृषक परिवारको ३४ प्रतिशत मात्रै हो । 

कृषि गणना २०७८ अनुसार कृषि क्रियाकलापको बीमा गर्ने कृषक परिवारको जम्मा संख्या १ लाख ८२ हजार छ । जुन कुल कृषक परिवारको ४ प्रतिशत हो । बीमा गर्नेमध्ये ८४ प्रतिशत कृषक परिवारले पशुपन्छी पालनका लागि बीमा गरेको पाइन्छ । 

कृषि कार्यका लागि सरकारबाट अनुदान पाएका किसानको संख्या जम्मा तीन लाख नौ हजार छ । जुन कुल कृषक परिवारको संख्याको ७ प्रतिशत मात्रै हो । अनुदान लिएकामध्ये ४६ प्रतिशतले रासायनिक मलका लागि प्राप्त गरेको बताएका छन् । 

अधिकांश किसानलाई कृषि कार्यबाट वर्षभर खान पुग्दैन 
कृषि आम्दानीबाट वर्षभर खान नपुग्ने परिवारको संख्या २२ लाख ७४ हजार छ । यो संख्या कुल कृषि कार्य गर्ने परिवारको ५५ प्रतिशत हुन्छ । ४५ प्रतिशत कृषक परिवारले वर्षभर खानपुग्ने जनाएका छन् । 

खान पुगेन भन्ने परिवारमध्ये ४७ प्रतिशतले चार देखि छ महिनासम्म खान पुगेन भनेका छन् । तीन मिहना पनि खान पुगेन भन्ने परिवार २४ प्रतिशत छन् । 

खान नपुगेको अवस्थामा ६२ प्रतिशत परिवारले देश भित्र नै ज्याला मजदूरी गरेर  खाद्य अभावको गुजारा टारेका छन भने १८ प्रतिशत देश बाहिर गएर मजदूरी गरेका छन् । 


 

All financial information at your fingertips.

शेयर गर्नुहोस