मूल्यवृद्धि उच्च भएपनि भारतीय केन्द्रीय बैंकले ब्याजदर चलाएन


बैंक खबर । बढ्दो मुद्रास्फीतिका बावजुद पनि भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले  ब्याजदरहरूमा कुनै परिवर्तन गरेको छैन । आरबीआईले बढ्दो मूल्यलाई नियन्त्रण गर्न गत वर्ष रेपो दरलाई शृङ्खलाबद्ध वृद्धि गरेपछि फेब्रुअरीदेखि यसको दरलाई छ दशमलव पाँच प्रतिशत पुर्याएको छ । 

जुलाईमा सात दशमलव चार प्रतिशत रहेको मुद्रास्फीति अगस्टमा छ दशमलव आठ प्रतिशत थियो । जुन आरबीआईको तोकेको बेन्चमार्कभन्दा धेरै माथि छ । 

आरबीआईका गभर्नर शक्तिकान्त दासले समष्टिगत आर्थिक स्थायित्व र दिगो विकासमा उच्च मुद्रास्फीतिलाई जोखिमका रूपमा लिएको र यसलाई चार प्रतिशतको लक्ष्यमा ल्याउन काम गरिरहेको बताएका छन् । 

बाढी, उच्च तापक्रम र कीटजन्य हमलाका कारण उत्पादन प्रभावित भएपछि भारतमा गहुँ, चामल र टमाटरसहितका खाद्यान्नको मूल्य बढेको छ । 

युक्रेनमाथि रुसको आक्रमणका कारण विश्वव्यापी आर्थिक गिरावट हुँदा गत वर्ष भारतको मुद्रास्फीति सात दशमलव आठ प्रतिशतको उच्चस्तरमा पुगेको थियो ।    
 

All financial information at your fingertips.

शेयर गर्नुहोस