कुमारी सुनौलो लगानी योजनाले १० वर्षमा २९६ प्रतिशत प्रतिफल दिने लक्ष्य लिएको छ - ममिन शाक्य


कुमारी क्यापिटलको व्यवस्थापनमा ‘कुमारी सुनौलो लगानी योजना’ बिहीबार (२०७९ चैत ९ गते) देखि सर्वसाधारणका लागि निष्काशन भएको छ । यो योजना कुमारी बैंकद्वारा प्रबद्र्धित कुमारी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो खुलामुखी योजना हो । निरन्तर खरिद बिक्री हुने भएकाले यस्तो योजनामा अवधिको कुनै सीमा हुँदैन । कुमारी क्यापीटलले हालै निष्काशन गरेको यस्तो प्रकृतिको योजनाको व्यवस्थापन कसरी गर्दैछ ? यसले भविश्यमा कस्तो प्रतिफल दिनेछ ? लगानीकर्ताले यो योजनामा किन सहभागी हुने ? लगायतका विषयमा बैंकको खबरले क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङ प्रमुख ममिन शाक्यसँग कुराकानी गरेको छ :

कुमारी क्यापिटलले सर्वसाधारणका लागि निष्काशन गरेको ‘कुमारी सुनौलो लगानी योजना’ कस्तो योजना हो ?

कुमारी सुनौलो लगानी योजना कुमारी बैंकद्वारा प्रवद्र्धित कुमारी क्यापिटल लिमिटेड अन्तर्गतको तेस्रो स्किम हो । यो खुलामुखी योजना हो । एक अर्ब रुपैयाँ आकारको यो योजना धितोपत्र बोर्डबाट स्वीकृत भएको योजना हो । यसमध्ये बिहीबारदेखि सर्वसाधारणका लागि पहिलो चरणमा जारी भएको ५० करोड रुपैयाँको New Fund Offer (NFO) हो । 

म्युचुअल फण्ड कम्पनीहरुले सञ्चालनमा ल्याएका योजना बन्दमुखी र खुलामुखी प्रकृतिका छन ? खासमा यस्ता योजनामा के भिन्नता हुन्छन ?

पहिलो त यो नामले नै डिफाइन गर्छ । बन्दमुखी योजनामा योजनाको सीमित आकार र अवधि तोकिएको हुन्छ । तर खुलामुखी योजनाको कुनै सीमित अवधि हुँदैन । यो निरन्तर चलिरहने योजना हो । यसको फण्डको आकार पनि निश्चित हुँदैन । जस्तो अहिले हामीले ५० करोड संकलन गर्न लागेको हो र यो बढ्दै गएर १ अर्ब रुपैयाँसम्म पुर्याउन सकिन्छ । एक अर्ब पुगेपछि पनि फण्डको आकार बढाउन सकिन्छ । त्यसका लागि धितोपत्र बोर्डसँग स्विकृति लिन सकिन्छ । 

अर्को मूख्य भिन्नता भनेको बन्दमुखी योजना नेप्सेमा सूचीकृत हुनेगर्छ । र सामान्य तया डिस्काउन्टमा कारोबार भइराखेको हुन्छ । अहिलेपनि कतिपय फण्डको १५/२० प्रतिशतसम्म डिस्काउन्ट मूल्यमा कारोबार भइराखेको देखिन्छ । यसले गर्दापनि साना लगानीकर्ताले म्यूचुअल फण्ड खरिद गर्न नरुचाएको देखिन्छ । तर त्यो भन्दा फरक छ खुलामुखी योजना । किनभने यस्तो योजनाको कारोबार खुद सम्पत्ति मूल्यमा हुन्छ ।  

खुलामुखी योजनामा नै किन लगानी गर्ने त ? यसबाट कसरी फाइदा हुन्छ ? 

बजारमा अहिले ३३ वटा जति बन्दमुखी स्किमहरु छन् । अब खुलामुखी योजनामा हामीले अहिले ल्याएको योजना सातौं हो । त्यसैले अब भविश्यमा एसआईपी सुविधा हामीले पनि दिन सक्ने भएका छौं । बन्दमुखी र खुलामुखी योजनाका आ–आफ्नै विशेषता छन् । तरपनि खुलामुखी योजनामा किन लगानी गर्ने भन्ने सवालमा पहिलो कुरा के हो भने यो एकदम तरल वित्तीय उपकरण हो र यसको कारोबार गर्न समस्या पर्दैन । 

अर्को भनेको एसआईपी गर्न सकिन्छ । जुन बन्दमुखी योजनामा छैन । यो भनेको निश्चित समयको अन्तरालमा निश्चित रकम लगानी थप्दै जाने हो । यस्तै यसमा लाभांशको पुनः लगानी सुविधा पनि छ । बन्दमुखी योजनामा प्राप्तहुने लाभांशल गानीकर्ताको बैंक खातामै जान्छ भने यसमा लगानीकर्ताले लाभांश लिने वा त्यसलाई थप लगानीको रुपमा थप्दै जाने सुविधा छनौट गर्न सकिन्छ । 

कुमारी सुनौलो लगानी योजनाले कुन–कुन क्षेत्रमा लगानी केन्द्रीत गर्ने योजना बनाएको छ ?

लगानीको मूख्य क्षेत्र भनेको पूँजी बजार नै हो । तर लगानीकर्ताको पूँजीको सुरक्षालाई ध्यान दिएर स्टक मार्केट बाहेक अन्य क्षेत्रमा पनि लगानी हुन्छ । जस्तो घट्दो बजारमा नाफा कमाउनु भन्दा प्रिन्सिपल जोगाउन ठूलो चुनौति हुन्छ । त्यसैले इक्वीटी इन्स्ट्रूमेन्टमा मात्रै नभएर मुद्दति निक्षेप, डिबेन्चर्स, प्र्र्रिफ्रेन्स शेयरहरुमा पनि लगानी विविधिकरण गरिएको हुन्छ । त्यसले गर्दा बजार घटेको अवस्थामा हुने जोखिमबाट जोगाउँछ । त्यसैले यसमा पोर्टफोलियो विविधिकरण गरिएको हुन्छ । 

कुमारी सुनौलो लगानी योजनाको पोर्टफोलियो विनियोजन कसरी गरिएको छ ?

यो योजना खुलामुखी भएपनि हामीले १० वर्षको प्रक्षेपण गरेका छौं । जस अनुसार हामीले इक्वीटी इन्स्ट्रूमेन्ट (लिस्टेड सेक्यूरिटिज)मा ५७ प्रतिशत, प्राथमिक निष्काशनमा ३ प्रतिशत, प्रिफ्रेन्स शेयर वा ऋणपत्रमा २० प्रतिशत, मुद्दति निक्षेपमा १५ प्रतिशत र नगदमा ५ प्रतिशत लगानी विविधिकरण योजना बनाएका छौं । 

बजारमा धेरै म्यूचुअल फण्डहरु छन् । ति सबैमध्ये कुमारी क्यापिटलले ल्याएका स्किमहरु नै किन छान्ने ?

हो बजारमा थुप्रै म्यूचुअल फण्डहरुको उपस्थिति रहेको छ । हामीबाहेक अरु एसिस्ट म्यानेजमेन्ट कम्पनीहरुले पनि म्यूचुअल फण्डहरु सञ्चालन गरेका छन् । अब कुमारी सामूहीक लगानी कोष अन्तर्गत हामीले स्किमहरु जारी गरेको २ वर्ष भइसक्यो । यो अवधिको रेकर्ड हेर्नेहो भने हामीले जारी गरेका कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजना दुवैको प्रदर्शन सन्तोशजनक देखिन्छ । दुवै स्किम जारी भएकाबखत भन्दा अहिले नेप्से परिसूचक न्यून विन्दुमा छ । हामी बजारमा प्रवेश गरेको समयमाभन्दा नेप्से परिसूचक ऋणात्मक भएपनि हाम्रो दुवै म्यूचुअल फण्डले सकारात्मक प्रतिफल दिन सकेको छ । म्यूचुअल फण्ड जारी गरेको बेलादेखि अहिलेसम्म २०÷२५ प्रतिशतले बजार घटेको भएपनि हामी इकाईधनीहरुको पूँजी सुरक्षा गर्न सफल भएका छौं । 

कुमारी सुनौलो लगानी योजनाको प्रतिफलको प्रोजेक्सन के छ ?

खुलामुखी योजना भएकाले लगातार चल्ने भएपनि हामीले १० वर्षको प्रोजेक्सन गरेका छौं । यो अवधिमा लगानीकर्तालाई दिने रिटर्न २९६ प्रतिशत हुन्छ । त्यो भनेको साधारण वार्षिक प्रतिफल २९ प्रतिशत, कम्पाउन्डेड वार्षिक ग्रोथ रेट १४.७७ प्रतिशत छ । आइआरआरको बेसिसमा हेर्नेहो भने यसको प्रक्षेपण गरिएको प्रतिफल १७.५९ प्रतिशत हो । जुन बजारमा अहिले भइराखेको मुद्दति निक्षेप भन्दापनि बढी देखिन्छ । त्यसैले यो ठूला र साना सबै लगानीकर्ताको सम्पत्ति निर्माण गर्ने औजारको रुपमा मूल्यवान औजार हुनसक्छ । 

बजारमा यस्तै प्रकृतिका अन्य योजनापनि छन । यही योजनामा नै किन लगानी गर्ने ?

अहिलेको बजार समय अनुसारपनि कुमारी सुनौलो लगानी योजनामा जो जसले लगानी गर्नुहुन्छ दिर्घकालमा राम्रो प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ भन्ने आशा गरेका छौं । यसमा एसआईपी गर्न मिल्ने भएकाले अहिले सार्वजनिक निष्काशनबाट आवेदन नदिएकाहरु पनि बाँडफाँट भएको तीन महिनापछि एसआईपी सुरु गर्न सक्छन् । यो भनेको अहिले सानोसानो लगानी जस्तो लाग्छ । तर यसले दिर्घकालमा ठूलो सम्पत्ति सिर्जना गर्न योजनाले सहयोग गर्नेछ । 

अन्त्यमा कुमारी क्यापिटललाई विश्वास गर्न सक्ने आधार के–के छन ?

हाम्रा जतिपनि स्किम छन हाम्रो माउ कम्पनी कुमारी बैंकले बिउ पूँजीको रुपमा लगानी गरेको छ । र हामीले अनुसन्धानमा आधारित भई दक्ष जनशक्ति परिचालन गरी लगानी व्यवस्थापन गरेका छौं । हामीले बैंकिङ भन्दा बाहेकका सेवाहरु इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ सम्बन्धी काम गरेका छौं । मर्चेन्ट बैंकिङमा इस्यू म्यानेजमेन्ट, शेयर रजिष्ट्रार, डिपी सेवा दिइरहेका छौं । इन्भेष्टमेन्ट बैंकिङ्मा म्यूचुअल फण्ड, पोर्टफोलियो व्यवस्थापनको काम गरिरहेका छौं । साथसाथै हामीले कर्पोरेट एडभाइजरी सर्भिसेस पनि सुरु गरेका छौं । जसमा बिजनेस सेटअपको लागि चाहिने होस वा भ्यालुएसनका लागि चाहिने सबै कर्पोरेट एडभाइजरी सम्बन्धी सेवा दिइरहेका छौं । यि सबै कामको लागि सहयोग गर्न हाम्रो छुट्टै रिसर्ज डिपार्टमेन्ट पनि खडा गरिएको छ । जुन हामीलाई विश्वास गर्नसक्ने बलिया आधारहरु हुन् । 

शेयर गर्नुहोस