काठमाडौं । सरकारले विभिन्न जलविद्युत आयोजना, निजामती सेवा, नेपाल रेडक्रस सोसाइटी तथा पूर्व गृहमन्त्रीसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय गरेको छ।
जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले चारवटा प्रमुख निर्णय गरेको सरकारका प्रवक्ता मार्फत जानकारी दिइएको छ ।
बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना तथा तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस निर्णयसँगै सम्बन्धित आयोजनाको निर्माण तथा कार्यान्वयन प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ ।
त्यसैगरी, बैठकले निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। नियमावलीमा भएका संशोधनले निजामती प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
मन्त्रिपरिषद्ले विशाल कुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ। नयाँ तदर्थ समितिले रेडक्रसको संस्थागत व्यवस्थापन तथा सञ्चालनलाई अगाडि बढाउनेछ ।
यस्तै, बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। प्रतिवेदनमा समेटिएका विषयवस्तुका आधारमा आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

Leave a comment