काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्री पदमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।
सिफारिसअनुसार गुरुङले मंगलबार दिउँसो ३ बजे राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ।
गुरुङ यसअघि चैत १३ गते पनि गृहमन्त्री नियुक्त भएका थिए। तर सम्पत्ति विवरणसम्बन्धी प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारद्वारा उक्त विषयसहित सार्वजनिक सरोकारका मुद्दा अध्ययन गर्न छानबिन समिति गठन गरिएको थियो।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन औपचारिक रूपमा ग्रहण गरेको जनाएको छ।
त्यसैगरी, प्रधानमन्त्री शाहले म्याग्दीका स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका छन्। पुनको शपथ ग्रहण पनि आजै राष्ट्रपति पौडेलबाट हुने तयारी छ।
महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् र लामो समयदेखि विज्ञान तथा नवप्रवर्तनको क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
सरकारका यी निर्णयसँगै नयाँ मन्त्रीपरिषद् विस्तारले राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढाएको छ।

Leave a comment