बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

२०८२ वैशाख १७ गते बुधबार ।
बैंकको खबर । बैंकिङ प्रणालीमा अधिकतरलता भएपछि राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।
बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा तरलता थुप्रिएर गएको छ । यसको असर न्यूनीकरणका लागि केन्द्रीय बैंकले प्रणालीबाट पैसा तानेर व्यवस्थापन गर्दै आएको छ ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि सो रकम तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।
करिब दुई वर्षयता बजारमा कर्जाको माग न्यून भएको र निक्षेपको वृद्धि उच्च भएपछि बैंकहरुले अधिक तरलताको सामना गर्दै आएका छन् ।
निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् ।