राष्ट्र बैंकले बजारबाट ९० अर्ब तान्दै, बैंकिङ प्रणालीमा करिब साढे सात खर्ब अधिक तरलता

२०८२ असार ४ गते बुधबार
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गई अधिक तरलताको स्थिति भएपछि राष्ट्र बैंकले पैसा तानेर व्यवस्थापन गर्न लागेको हो ।
केन्द्रीय बैंकले ३५ दिनका लागि ९० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज बुधबार दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी साउन ७ गते हुनेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न पाउनेछन् ।