गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकियो, नयाँ गभर्नर नियुक्त नहुँदा राष्ट्र बैंक नेतृत्व विहिन


२०८१ चैत २४ गते आइतबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंक नेतृत्व विहिन भएको छ । गभर्नर महाप्रसाद अधिकारी आज (चैत २४ गते आइतबार)बाट कार्यकाल पुरा गरी अवकास पाएपछि राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको हो । 

चैत २३ र २४ गते दुई दिन बिदा परेकाले गभर्नर अधिकारी चैत २२ गते शुक्रबार नै बिदा भएर निष्किएका थिए । अधिकारी २०७६ सालको चैत २४ गतेदेखि गभर्नरको भूमिकामा नियुक्त भएका थिए । 

नेपाल राष्ट्र बैंक ऐन अनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाभन्दा पहिले नै गभर्नर नियुक्त गर्नुपर्छ । तर सरकारले नयाँ गभर्नर ल्याउन सकेको छैन । 

गभर्नर पद रिक्त रहेको अवस्थामा वरिष्ठ डेपुटी गभर्नर कार्यबाहक गभर्नर बन्ने कानुनी व्यवस्था छ । तर आज (आइतबार) सार्वजनिक विदा परेकाले सरकारले त्यसको पनि निर्णय गरिसकेको छैन ।

सरकारले गभर्नर चयनका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति बनाइसकेको छ । समितिले अहिलेसम्म गभर्नरका लागि कुनैपनि नाम सिफारिस गरेको छैन । समितिले तीन जनाको नाम सिफारिस गर्न पाउँछ । समितिले सिफारिस गरेको नामबाट मन्त्रिपरिषद्ले एकजनालाई गभर्नर नियुक्त गर्नेछ । सम्भवतः यसै साता सरकारले नयाँ गभर्नर नियुक्त गर्नेछ ।

शेयर गर्नुहोस