यस्तो छ सेयरबजार घट्नुको कारण


२०८२ वैशाख १६ गते मंगलबार । 

बैंकको खबर । सेयर बजारमा आज (मंगलबार) पनि गिरावट देखियो । कारोबार मापक नेप्से परिसूचक १५.०८ अंक घटेर २६३१.९८ विन्दुमा झरेको छ । ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४५ कम्पनीमध्ये १८८ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । बजार घटेपनि ५७ वटाको सेयरमूल्य भने बढेको छ ।

आजपनि २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको हो । यस्तै, मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । 

सूचीकृत १३ वटा समूहमध्ये म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै १.२२ प्रतिशत घटेको छ । 

नेप्सेले सातआठ महिनादेखि साइडवेज प्रवृति देखाइरहेको छ । नेप्से २६०० र २८००को बीचमा तलमाथि गरिरहेको छ । लामो समय साइडवेज ट्रेन्डमा बसेकाले बजार बढ्न वा घट्न कुनै बलियो आधार खोजिरहेको छ । लगानीकर्ता पर्ख र हेरको रणनीतिमा देखिन्छ । अहिले बजार घटेपनि साइडवेज ट्रेन्डलाई तलपट्टि ब्रेक गर्न सकेको भने छैन । 

अर्थतन्त्रका सबै सूचकहरु ठिकठाक छन् । ब्याजदर पनि न्यून छ । बैंकमा तरलता प्रसस्त छ । सेयर धितोमा जाने कर्जा पनि बढेको देखिन्छ । तर पनि बजारले गति लिन नसक्नुलाई लगानीकर्ताले पर्ख र हेरको रणनीति अपनाएको रुपमा बुझ्नुपर्ने विश्लेषकहरु बताउँछन् । किनभने लगानीकर्ताले अहिले केन्द्रीय बैंकको गभर्नर नियुक्तिको विषयलाई चासोका साथ हेरेका छन् । कस्तो व्यक्ति गभर्नर बन्छ र उसले कस्तो नीति लिन सक्छ भन्ने निक्र्योल हुन नसक्दा लगानीकर्ता अन्योलमा देखिएका छन् । त्यसैले बजार सुस्त छ । 

मंगलबार गानीकर्ताको सम्पत्ति २५ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि ६ अर्ब रुपैयाँ घटेर १४ खर्ब ५६ अर्ब रुपैयाँ कायम भएको छ ।

शेयर गर्नुहोस