लगानीकर्ताको आत्मविश्वास बढ्न नसक्दा सेयरबजारमा गिरावट
२०८२ असार ५ गते बिहीबार ।
बैंकको खबर । सेयरबजारले बिहीबार (आज) बजारले नकारात्मक प्रतिक्रिया देखाएको छ । बजारप्रति लगानीकर्ता विश्वस्त हुन नसक्दा कारोबार मापक नेप्से परिसूचक २४.५९ अंकले घटेर २६२९.०८ विन्दुमा झरेको छ ।
अर्थतन्त्रका सूचकहरु सब ठिकठाक रहेको र बैंकमा तरलता प्रशस्त भएको अवस्थामा पनि बजारमा लगानी बढ्न नसक्दा लगानीकर्ताको आत्मविश्वास खस्किएको देखिन्छ । जसले गर्दा नेप्सेमा दबाब परेको छ ।
मंगलबार र बुधबार सामान्य अंकले घटेको बजार बिहीबार केही बढी घटेको छ । नेप्से घटे पनि कारोबार भने राम्रै भइरहेको छ । बिहीबार ११ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार भोलुम धेरै देखिए पनि बजारमा बिक्रीकर्ता हाबी हुँदा नेप्सेमा दबाब परेको विश्लेषकहरु बताउँछन् ।
आज एउटा कम्पनी सकारात्मक सर्किट लागेको छ भने तीन वटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ । सूचीकृत १३ वटै समूह घटेका छन् ।
सूचीकृत कम्पनीको वित्तीय विवरण र उनीहरुले वितरण गर्न सक्ने लाभांश सन्तोषजनक नहुँदा लगानीकर्ताले सेयर खरिद बढाउन सकिरहेका छैनन् । किन भने अधिकांश कम्पनीहरुले दिने प्रतिफल भन्दा बैंकमा निक्षेप राख्दा बढी फाइदा भइरहेको छ । त्यसैले बजार दबाबमा रहनु स्वभाविक हो ।