बढेन निजी क्षेत्रमा कर्जाको माग

बढेन निजी क्षेत्रमा कर्जाको माग

बैंक खबर । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएर एकल विन्दुमा झारिसकेका छन् । कर्जाको ब्याजदर पनि एकल विन्दु हाराहारी छ । केही कर्जामा बैंकहरुले एकल विन्दु ब्याजदर अफर गरिरहेका छन् । तर पनि निजी क्षेत्रमा कर्जाको माग बढ्न सकिरहेको छैन् ।

दुई वर्षअघिसम्म निजी क्षेत्रमा कर्जा विस्तार वार्षिक औसत १७ प्रतिशत हाराहारी थियो । तर अहिले आन्तरिक अर्थतन्त्रमा देखिएको संकुचनका कारण निजी क्षेत्रमा कर्जाको माग घटेर गएको छ । बैंक तथा वित्तीय संस्थाले पुरानो ऋण समेत उठाउन सकिरहेका छैनन् । 

चालू आर्थिक वर्ष २०८०/८१को १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई खर्ब २५ अर्ब २४ करोड रुपैयाँ (४.७ प्रतिशत)ले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ (३.३ प्रतिशत)ले बढेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ ।

२०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरुको ३.९ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले बढेको छ ।

२०८१ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले बढेको छ ।

२०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०८० बैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १८.८ प्रतिशतले, नगद प्रवाह कर्जा २५.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.८ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.६ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४४.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), ट्रष्ट रिसिट (आयात) कर्जा ०.५ प्रतिशतले र हायर पर्चेज कर्जा २१.८ प्रतिशतले घटेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस