नवनियुक्त गभर्नर डा. पौडेलले गरे पद बहाली
२०८२ जेठ ७ गते बुधबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज (२०८२ जेठ ७ गते) पद बहाली गरेका छन् । नेपाल सरकार (मन्त्रिपरिषद्) को जेठ ६ गतेको निर्णयानुसार डा. पौडेल केन्द्रीय बैंकको रिक्त गभर्नर पदमा नियुक्त भएका हुन् ।
नेपाल राष्ट्र बैंकको अठारौं गभर्नरको रूपमा पदबहाली अघि उनले आजै सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) बमोजिम आफ्नो ओहदाको काम सुरु गर्नुभन्दा अगाडि गभर्नरले प्रधान न्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष सपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार, कोलोम्बो प्लान काउन्सिलको अध्यक्ष तथा नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकारको रूपमा जिम्मेवारी निर्वाह गरिसकेका डा. पौडेल पछिल्लो समय काठमाडौं विश्वविद्यालयमा प्राध्यापक थिए ।
डा. पौडेलले सन् २०१० मा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट कृषि तथा प्राकृतिक स्रोत अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनका अनुसन्धानात्मक लेखहरू राष्ट्रिय÷अन्तर्राष्ट्रिय आर्थिक जर्नलमा प्रकाशित छन् ।