गभर्नर नियुक्तिपछि सेयरबजारमा तिव्र उतारचढाव, नेप्से करिब ८ अंक घट्यो

गभर्नर नियुक्तिपछि सेयरबजारमा तिव्र उतारचढाव, नेप्से करिब ८ अंक घट्यो

२०८२ जेठ ७ गते बुधबार । 
सेयर खबर । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने पक्का भएपछि मंगलबार सेयरबजार ४९ अंक बढेको थियो । बुधबार पनि कारोबार खुलेको केही मिनेटमै उच्च अंकको वृद्धि भई नेप्से परिसूचक २७ सय ७१ विन्दुमा पुगेको थियो । त्यसपछि अल्पकालीन कारोबारीले छोटो समयमा बढेको नाफा सुरक्षित गर्न बिक्रीचाप बढाउँदा बजार प्रभावित भयो । कारोबार बन्द हुँदासम्म नेप्से ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा झरेको छ । आज बजारमा १०२ अंकको उतारचढाव देखियो । 

गभर्नर नियुक्ति भएपछि बजारले थप गति लिने लगानीकर्ताको बुझाई थियो । त्यही अनुसार आजको कारोबारको सुरुवाती समयमा बजारले राम्रो संकेत पनि देखायो । कारोबार सुरु भएको ३ मिनेटमै बजार करिब ९४ अंक बढेको थियो । 

अर्थतन्त्र चलायमान पहिलो बनाउने जिम्मेवारी अर्थमन्त्रालयको भएको र त्यसमा राष्ट्र बैंक सहयोगीको भूमिकामा रहने नवनियुक्त गभर्नरको भनाइ बाहिरिएपछि लगानीकर्ताले बजारबाट नाफा सुरक्षित गर्न खोजेको देखिन्छ । विश्लेषकहरुले छोटो समयमा उच्च फाइदा भएपछि अल्पकालीन कारोबारीहरुले नाफा सुरक्षित गर्न सेयरको बिक्री बढाउँदा दबाब पर्न गई सूचकमा गिरावट देखिएको बताएका छन् ।

आज बजार घटेपनि कारोबार रकम बढेको छ । हिजो सात अर्ब ३१ करोड हाराहारीको कारोबार भएकामा आज १० अर्ब ६९ कारोडको सेयर किनबेच भएको छ । 

कारोबार भएका २४७ कम्पनीमध्ये १५३ वटाको सेयरमूल्य घटेको छ । बाँकीमध्ये ९३ वटाको सेयरमूल्य बढेको छ भने एउटाको स्थिर रहेको छ ।

बैंकिङ, विकास बैंक र म्युचुअल फन्ड समूह बढेका छन् । सबैभन्दा धेरै जलविद्युत समूह एक प्रतिशत घटेको छ । ओम मेगाश्री फार्मासिटिकल्सको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशत बढेको छ । सबैभन्दा धेरै स्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको सेयरमूल्य ८.३२ प्रतिशत घटेको छ । राधि विद्युतको सेयर कारोबार सबैभन्दा धेरै ७१ करोड रुपैयाँ बराबरको भएको छ । बजार पुँजीकरण ४४ खर्ब ४२ अर्ब रुपैयाँ कायम भएको छ । 


शेयर गर्नुहोस