आर्थिक पत्रकारहरुलाई नबिल बैंकको ‘एडभान्स्ड बैंकिङ’ तालिम

२०८२ असार ७ गते शनिबार
बैंकको खबर । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको बुढानीलकण्ठ स्थित लेमन ट्रि प्रिमियरमा शुक्रवारदेखि सुरु भएको तालिम कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
तालिमले बैंकिङ विषयमा समाचार लेख्ने पत्रकारहरूको क्षमता अभिवृद्धिमा सहयोग पुगेको विश्वास गरिएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी अधिकृत नरबहादुर थापा, नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली लगायतको आतिथ्यमा सञ्चालन भएको तालिम कार्यक्रममा बैकिङ क्षेत्रको अवस्था, चुनौती र अर्थतन्त्रको विकासमा देखिएको अवरोधका विषयमा छलफल भयो ।
कार्यक्रमको पहिलो दिन शुक्रवार नविल बैंकका फाइनान्स हेड सन्दिपबाबु पौडेलले ‘बैंकमा नाफा निर्धारण’को विषयमा प्रशिक्षण दिएका थिए । यसै गरी नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थी र नविल बैंकका इन्फरमेसन सेक्युरिटी अफिसर प्रवेश पौडेलले डिजिटल वित्तीय साक्षरताको विषयमा छुट्टा छुट्टै प्रस्तुती दिएका थिए ।
यसैगरी ‘आर्थिक विकास र अबको बाटो’ विषयमा प्यानल छलफल समेत भएको थियो । नाफिजका निवर्तमान अध्यक्ष मोदनाथ ढकालले सहजीकरण गरेको उक्त छलफलमा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा, नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र अर्थविद् निशान्त खनाल वक्ताको रूपमा थिए ।
कार्यक्रमको दोस्रो दिन नविल बैंकका सीईओ मनोज ज्ञवालीले सञ्चार माध्यमबाट बैंकिङ क्षेत्रले गरेको अपेक्षाबारे प्रकाश पारेका थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठले सामाजिक विश्वसनीयतामा कमी आउँदा त्यसले आम जनतामा निराशा छाएको उल्लेख गरे । अर्थतन्त्रका बारेमा नजान्दै धारणाहरु राख्ने व्यक्तिहरू र तथ्यमा आधारित नभै सूचना सम्प्रेषण गर्ने मिडियाका कारण जनतामा विश्वसनीयता गुम्दै गएको धारणा राखे । उनले बैकिङ क्षेत्र मात्रै नभएर अर्थतन्त्रका बारेमा देखिएका सकारात्मक पक्षमा समेत जोड दिन आग्रह गरे ।
यस्तै, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले सूचनाको संवाहक रहेका पत्रकारहरूले वित्तीय क्षेत्रको जोखिम बुझेर संवेदनशीलता अपनाउन पत्रकारहरूलाई आग्रह गरे । ‘तथ्यगत सूचना सम्प्रेषण गरेर वित्तीय क्षेत्रको संवेनशीलतालाई पत्रकारले बुझेर समाचार सम्प्रेषण गर्नुहुन अनुरोध गर्छु,’ उनले भने ।
नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैकिङ क्षेत्रको सूचना सम्प्रेक्षण गर्दै गर्दा तथ्यमा आधारित भए मात्र गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । बैंकहरु निजी नभएर सार्वजनिक संस्था भएको हुँदा तथ्यमा आधारित भएर मात्रै समाचार सम्प्रेषण गर्न आवश्यक रहेको उनको भनाइ छ । यद्यपि, बैंकहरु पनि गलत रहेको उदाहरण दिँदै सही र गलत छुट्याएरमात्रै समाचार लेख्न सकिने उनले बताए । बैंक निजी नभएर सार्वजनिक हो र सर्वसाधारणकै बचतले चलेको छ भन्ने बुझाउन मिडियाको भूमिका महत्त्वपूर्ण रहने उनको तर्क थियो ।
नाफिजकी अध्यक्ष मेनुका कार्कीले यस प्रकारको तालिमले पत्रकारहरूको कलम गहन र अझै प्रभावकारी ढंगले चल्ने बताइन् । उनले दिनप्रतिदिन बैकिङ क्षेत्रमा खराब कर्जा बढ्दै जाँदा जनमानसमा यो क्षेत्र समस्यामा पर्ने हो कि भन्ने आशंका उब्जाएको समेत बताउँदै समाधान तर्फ राष्ट्र बैंक लाग्नुपर्ने धारणा राखिन् । देशमा देखिएको निराशा चिर्नलाई उद्यमीहरूलाई प्रोत्साहन गर्दै हरेक बैंकले सहज रूपमा कर्जा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।
प्यानल छलफलमा कसले के भने ?
प्यानल छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापाले सरकारले विकासे रणनीतिक योजनाहरूलाई कार्यान्वयन गर्न नसक्दा जनतामा निराशा छाउन थालेको तर्क गरे । उनले संविधान आएको बर्ष २०७२ यता विकासे आयोजना कार्यान्वयनको अवस्था कमजोर देखिदा त्यसले जनतामा निराशाको वातावरण सिर्जना गरेको बताए ।
उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले त्यस्ता रणनीतिक योजनाहरू कार्यान्वयन गर्ने,बैंकिङ क्षेत्रबाट उत्पादनमूलक क्षेत्रका कर्जा सहजीकरण गर्ने लगायतका काम गरे मात्रै जनतामा पुनः आशाको सञ्चार हुने धारणा व्यक्त गरे ।
यस्तै बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले सरकारले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन नसक्दा अर्थतन्त्रको चक्र बिथोलिएको धारणा राखे । उनले अर्थतन्त्रलाई उकास्दै जनतामा विश्वासको वातावरण जगाउन सरकारले लिने रणनीतिसँगै आम सञ्चार माध्यमले अवलम्बन गर्ने तथ्यपरक नीतिले जनतालाई निराशाबाट आशा तिर लैजान सक्ने धारणा राखे ।
यस्तै अर्थविद् निशान्त खनालले नागरिकको अपेक्षा र विकासको गतिको तालमेल नमिल्दा त्यसले जनतामा निराशाको वातावरण सिर्जना गरेको बताए । उनले भने, ‘तथ्यांकमा विकासले फड्को मारे पनि जनताले अपेक्षा गरेअनुसारको विकासको अनुभूति गर्न नसक्दा त्यसले निराशा फैलाएको छ ।’
कार्यक्रममा बैकिङ क्षेत्रमा मात्रै नभएर अर्थतन्त्रका तमाम समस्या देखिए पनि देशको आर्थिक सूचकहरू सुधारोन्मुख देखिँदै गएका कारण जनतामा सकारात्मक सूचना सम्प्रेषण गर्न विज्ञहरूले आग्रह गरे । सूचना सम्प्रेषणमा मिडियाको भूमिका महत्वपूर्ण रहने हुँदा तथ्यपरक र सकारात्मक सूचनालाई सम्प्रेषण गर्दै जनतामा देखिएको निराशालाई घटाउन समेत उनीहरूले जोड दिए ।