अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको पक्षमा अर्थमन्त्री डा. महत

अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको पक्षमा अर्थमन्त्री डा. महत

बैंक खबर । अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुनुपर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आइतबार काठमाडौंँमा आयोजित ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले खुकुलो मौद्रिक नीतिको आवश्यकता रहेको बताएका हुन् । आगामी मौद्रिक नीति तय गर्दा नीतिगत दर (पोलिसी रेट) मा सम्बोधन गरी खुकुलो गरेर जाँदा अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री महतले बताए ।

“मौद्रिक नीति खुकुलो हुने वित्तिकै अर्थतन्त्र चलायमान भएर सहजतातर्फ जान्छ”, उनले भने, “कोभिड महामारी पछि पुनरुत्थानका लागि खुकुलो बनाइएको नीति बाह्य क्षेत्रमा समस्या देखिएपछि एकाएक कडाइ गरियो । त्यसको कडाइको प्रभाव अहिले पनि देखिरहेको छ ।”

अर्थमन्त्री महतले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीचको समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकले स्वायत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्र सुधारका लागि पहल गरोस् भन्ने चाहना रहेको उनको भनाइ थियो ।

“वित्त नीतिले एउटा र मौद्रिक नीतिले अर्को बाटो समत्यो भने हाम्रा लक्ष्य पूरा हुन सक्दैनन, अर्थमन्त्री महतले भने, “पदको दुरुपयोग मन्त्रालय वा राष्ट्र बैंक दुवैको नेतृत्वबाट हुन सक्छ । राष्ट्र बैंक स्वायत्त भनेर संवैधानिक आयोग जस्तो बनाएर जानुपर्छ भन्ने पनि हुँदैन । अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिनुपर्छ ।”

सरकारले वित्त नीतिमा अर्थतन्त्र सुधारका महत्वपूर्ण कार्यक्रम राखेको अर्थमन्त्री महतले बताए । अहिले लागत महँगो हुँदा पुँजी प्रवाह हुन नसकेको र यसले समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उनको भनाइ थियो ।

अर्थमन्त्री महतले सरकारले अहिले अनावश्यक रकमान्तर रोकेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षका लागि छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकोमा त्यो पूरा हुनेमा आफू आशावादी रहेको धारणा व्यक्त गरे ।

अर्थतन्त्रमा अहिले देखिएका समस्याको शीघ्र पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बताए । “नेपालको अर्थतन्त्र गम्भीर अवस्थामा जाँदैछ, त्यसलाई कसरी पुनरुत्थान गर्ने भन्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “हाम्रा नीति वा नियत केमा समस्या हो पहिचान गर्न आवश्यक छ ।”

सांसद चौधरीले अर्थतन्त्र सुधारका लागि कुन ठाउँमा समस्या छ र कसरी सुधार गर्ने भनेर पहिचान गरिनुपर्नेमा जोड दिए । उनले आगामी आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिका लागि लिइएका सुझाव नेपाल राष्ट्र बैंकलाई दिने जानकारी दिए ।

अर्थविद डा डिल्लीराज खनालले बैंकिङ र वित्तीय क्षेत्रमा समस्या आउँदा समग्र अर्थतन्त्रमा नै समस्या आउने गरेको बताउनुभयो । “पछिल्ला दिनमा अर्थतन्त्र सुधारोन्मुख देखिए पनि अझै सङ्कट कायम छ । अहिले तरलता बढेको छ तर कर्जाको विस्तार हुनसकेको छैन”, उनले भने ।

अर्थविद डा चन्द्रमणि अधिकारीले क्षेत्रगत कर्जाको नतिजा कुल गार्हस्थ्य उत्पादनमा देखिन नसकेको उल्लेख गरे । “कृषि, जलविद्युतलगायत क्षेत्रमा प्रवाह भएको कर्जा अनुसार ती क्षेत्रले जीडिपीमा पुर्‍याएको योगदान कम छ”, उनले भने ।

All finacial inforamation at your fingertips.


शेयर गर्नुहोस