अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

बैंक खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले आज (मंगलबार) रिभर्स रिपो जारी गरी सो रकम खिच्न लागेको हो । 

अन्तरबैंक ब्याजदर एक प्रतिशतमा झरेपछि राष्ट्र बैंकले बैंकहरुबाट रकम प्रशोचन गर्न लागेको हो । यो रकम राष्ट्र बैंकले दुई साताका लागि तान्न लागेको जनाएको छ । 

अहिले बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन तिव्र गतिमा बढी रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप अहिले ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुको कर्जा–निक्षेप अनुपात ८२.०३ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कुल निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउँछन् । यो आधारमा अहिले बैंकहरुसँग करिब ४ खर्ब ६० अर्ब रुपैयाँ अधिक तरलता छ । कर्जा लगानी नबढ्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको बैंकहरुले बताएका छन् । 

राष्ट्र बैंकले नीतिगत दरलाई ७ प्रतिशत राखेको भए पनि अन्तरबैंक ब्याजदर एक प्रतिशत नजिक झरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट नै अन्तरबैंक दर नीतिगत दरभन्दा दुई प्रतिशतले तल झरेमा बजारबाट तरलता प्रशोचन गर्ने व्यवस्था गरेको छ । 


 

All financial information at your fingertips.


शेयर गर्नुहोस