पाँच बैंकले बढाए ब्याजदर, कुन बैंकमा पैसा राख्दा कति ब्याज पाइन्छ ?

पाँच बैंकले बढाए ब्याजदर, कुन बैंकमा पैसा राख्दा कति ब्याज पाइन्छ ?

बैंक खबर । बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर कार्यान्वयनमा ल्याएका छन् । निक्षेपको ब्याजदर निर्धारणमा बैंकहरूले भद्र सहमति खारेज गरेपछि साउन महिनामा घट्ने अपेक्षाका बाबजुत केही बैंकले ब्याजदर बढाएका छन् । 

अहिले वित्तीय प्रणालीमा साढे चार खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता छ । यही कारण देखाएर बैंकर्स संघले भद्र सहमति खारेज गरी आ–आफ्नो अनुकूल ब्याजदर कायम गर्न बैंकहरुलाई स्वतन्त्र छाड्ने निर्णय गरेको थियो । यसबाट धेरैले ब्याजदर घट्ने अपेक्षा गरेका थिए । तर अपेक्षा विपरित केही बैंकले निक्षेपमा ब्याजदर बढाएका छन् । 

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाउनेमा एनएमबी बैंक, एनआईसी एसिया, प्राइम कमर्सियल, नबिल र कुमारी बैंक छन् । 

असारमा सबै वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम राखेका थिए । ब्याजदर निर्धारणमा बैंकहरू स्वतन्त्र भएपछि ५ वाणिज्य बैंकले ब्याजदर बढाएका छन्, ६ वटाले स्थिर राखेका छन् भने ९ वटाले घटाएका छन् । आ–आफ्नो हैसियतमा ब्याजदर निर्धारण गर्न स्वतन्त्र भएपछि ब्याजदरमा विविधता देखिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गर्दा अघिल्लो महिनामा कायम ब्याजदरको तुलनामा १० प्रतिशत बढाउन वा घटाउन सक्ने व्यवस्था गरेको  छ । यस्तै, व्यक्तिगत मुद्दतीको तुलनामा संस्थागत मुद्दतीलाई दिने ब्याजदरको फरक दुई प्रतिशत हुनुपर्ने व्यवस्था छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर पाँच प्रतिशत विन्दुभन्दा बढी हुन नहुने व्यवस्था छ । यस्तै, बचतमा दिइने ब्याजदरको तल्लो सीमा र माथिल्लो सीमाबीचको अन्तर पनि दुई प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था छ । कुल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याजदर कायम गर्न पाइँदैन ।

साउनमा तोकिएका ब्याजदरमध्ये एनएमबी बैंकले १० वर्ष भन्दा माथिको लागि तोकेको ब्याजदर सबैभन्दा धेरै छ । एनएमबी बैंकले १० वर्षमाथिको मुद्दती निक्षेपमा १०.९८ प्रतिशत ब्याजदर तोकेको छ । एनएमबी बैंकपछि एनआईसी एसियाले अधिकतम १०.९३ प्रतिशत ब्याजदर घोषणा गरेको छ । यस्तै, प्राइम कमर्सियल बैंकले १०.९३ प्रतिशत ब्याजदर दिँदा नबिलले अधिकतम १०.४९ प्रतिशत र कुमारी बैंकले १०.०१ प्रतिशत ब्याजदर तोकेका छन् ।

ब्याजदर स्थिर राख्ने बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई, ग्लोबल आईएमई, हिमालयन, लक्ष्मी सनराइज र सिटिजन्स बैंक इन्टरनेसनल रहेका छन् । यी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत नै कायम राखेका छन् । सानिमा, कृषि विकास, एभरेष्ट, प्रभु, सिद्धार्थ, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले असारको तुलनामा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । 

सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदार ९.५२ प्रतिशतमा झारेको छ । यस्तै, कृषि विकास बैंकले ९.५१ प्रतिशत, एभरेष्टले ९.५० प्रतिशत, प्रभुले ९.५० प्रतिशत, सिद्धार्थले ९.५० प्रतिशत, माछापुच्छ्रेले ९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.९९ प्रतिशत, नेपाल बैंकले ८.९९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.९५ प्रतिशत अधिकतम ब्याजदर कायम गरेका छन् । 

बैंकहरूले यसअघि लगानीयोग्य रकमको अभाव भएपछि एक–आपसमा निक्षेपको तानातान हुने भन्दै ब्याजदरमा भद्र सहमति गरी कार्टेलिङ गर्दै आएका थिए । बैंकर्स संघले घटाउने निर्णय गर्दा घटाउने र बढाउने निर्णय गर्दा बढाउने गर्दै आएका थिए । त्यसो हुँदा सबै वाणिज्य बैंकहरूको ब्याजदरमा एकरूपता थियो । अहिले ब्याजदर निर्धारणमा स्वतन्त्र भएपछि बैंकहरूले निक्षेपको अवधि र प्रकृतिअनुसार फरक–फरक ब्याजदर कायम गरेका छन् । 
 

 

२०८० साउन महिनाका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा तोकेको अधिकतम ब्याजदर

बैंक अधिकतम ब्याजदर
एनएमबी बैंक १०.९८
एनआईसी एसिया बैंक १०.९३
प्राइम कमर्सियल बैंक १०.९३
नबिल बैंक १०.४९
कुमारी बैंक १०.०१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९.९९
नेपाल एसबीआई बैंक ९.९९
ग्लोबल आईएमई बैंक ९.९९
हिमालयन बैंक ९.९९
लक्ष्मी सनराइज बैंक ९.९९
सिटिजन्स बैंक इन्टरनेसनल बैंक ९.९९
सानिमा बैंक ९.५२
कृषि विकास बैंक ९.५१
एभरेष्ट बैंक ९.५०
प्रभु बैंक ९.५०
सिद्धार्थ बैंक ९.५०
माछापुच्छ्रे बैंक ९.००
राष्ट्रिय वाणिज्य बैंक ८.९९
नेपाल बैंक ८.९९
स्ट्यान्डर्ड चार्टर्ड बैंक ८.९५

All financial information at your fingertips.


शेयर गर्नुहोस