सहकारी संस्थाहरुलाई काठमाडौं महानगरको ताकेता, ३० दिनभित्र विवरण बुझाउन निर्देशन


बैंक खबर । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित सहकारी संस्थाहरुलाई ३० दिनभित्र विवरण पेश गर्न निर्देशन दिएको छ । 

महानगरले केही सहकारी संस्थाहरुले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकिए बमोजिमका विवरणहरु समयमा पेस गर्ने गरेको नपाइएको भन्दै सूचना निकालेर निर्देशन दिएको हो । 

महानगरले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिका सहकारी विभागमा उक्त विवरणहरु बुझाई अध्यावधिक गर्न भनेको छ । तोकिएको मितिमा विवरण नबुझाउने सहकारीलाई कानुन बमोजिम कारबाही गरिने समेत प्रस्ट पारेको छ । 

काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारणसभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिए बमोजिमका विवरणहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरु, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस