ब्याजदरमा बैंकहरुको कार्टेलिङ हट्यो, साउनदेखि बैंकले आफ्नो ब्याज आफै तोक्ने


बैंक खबर । नेपाल बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमित खारेज गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति भएको भन्दै संघले आफ्नो ब्याज आफै तोक्न सम्बन्धित बैंकलाई नै जिम्मा दिएको हो । 

यसअघि भद्र सहमतिको नाममा बैंकर्स संघले ब्याजदर तोकेर कार्टेलिङ गर्दै आएको थियो । अब साउन १ गतेदेखि कुनै पनि बैंकले आफ्नो निक्षेपको ब्याजदर आफै तोक्न सक्ने निर्णय भएको संघले जनाएको छ । 

भद्र सहमति खारेज भए पनि राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले ब्याजदर अधिकतम १० प्रतिशतसम्म मात्रै घटाउन वा बढाउन सक्नेछन् । राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १० प्रतिशतको सीमाभित्र रहेर ब्याजदर थपघट गर्न सक्ने व्यवस्था गरेको छ । 

अहिले वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.९९ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् । बैंकहरुले साउन १ गते १० प्रतिशत ब्याज घटाए भने व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.९९१ प्रतिशतमा झर्छ । संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगत मुद्दति निक्षेपको भन्दा दुई प्रतिशत विन्दुले कम ब्याजदर कायम गर्नुपर्ने व्यवस्था छ । यसबाट संस्थागत निक्षेपको ब्याजदर ७ प्रतिशतभन्दा तल झर्न सक्छ । 

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ । बैंकहरुसँग साढे ४ खर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । चर्को ब्याजदरका कारण कर्जाको माग बढ्न सकेको छैन । यहीकारण बैंकहरु तत्काल ब्याजदर घटाउने पक्षमा छन् । निक्षेपको ब्याजदर नघटिकन ऋणको ब्याजदर घट्दैन । ब्याजदर नघट्दासम्म ऋणको माग बढ्ने कुनै सम्भावना देखिदैन । 

अर्कोतर्फ महँगो ब्याजदरका कारण बजारमा माग पक्ष कमजोर भएको छ । माग पक्ष नबढ्दासम्म अर्थतन्त्र चलायमान नहुने भएपछि कर्जाको माग बढ्ने स्थिति हुँदैन । यही बुझेका बैंकहरु अब आफूखुशि ब्याजदर घटाउन तयार भएका हुन् । 
 

 

All financial information at your fingertips.

शेयर गर्नुहोस