रेमिट्यान्सबाट प्राप्त रकम अनुत्पादक क्षेत्रमा सबैभन्दा धेरै खर्च


बैंक खबर। वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स सबैभन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले रेमिट्यान्स रकमको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, घरजग्गा खरिद लगायतका क्षेत्रमा खर्च भएको देखाएको हो । 

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ सम्बनधी प्रतिवेदनले यस्तो तथ्यांक देखाएको छ । प्रतिवेदनअनुसार रेमिट्यान्सको रुपमा भित्रिएको रकममध्ये दैनिक उपभोगमा मात्र ५८.७८ प्रतिशत खर्च भएको पाइएको छ । त्यसपछि शिक्षा तथा स्वास्थ्यमा २२.४८ प्रतिशत, ऋण तिर्न १०.७ प्रतिशत र मनोरञ्जन तथा अन्य क्षेत्रमा ८.६७ प्रतिशत खर्च हुने गरेको पाइएको छ । 

अध्ययनले ९६.६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुपूर्वको तुलनामा बढेको पाइएको छ । त्यस्तै, ९६.०८ प्रतिशत परिवारको चाडपर्व, मनोरञ्जन, सामाजिक खर्च समेत बढेको पाइएको छ ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सको अधिकांश हिस्सा अनुत्पादक क्षेत्रमा बढी लगानी भएको देखाएको छ । त्यसमा पनि वैदेशिक रोजगारीमा गएका मध्ये ६८.४१ प्रतिशतले आफ्नो वा परिवारको नाममा घरजग्गा खरिद तथा निर्माण गरेको पाइएको छ । गरगहना खरिद गर्ने ६३.१९ प्रतिशत रहेका छन् । 

वैदेशिक रोजगारीमा गएकाहरुको लैङ्गिक हिसाबले विश्लेषण गर्दा पुरुष ९४ प्रतिशत तथा महिला ६ प्रतिशत रहेका छन् । वैवाहिक अवस्थाको आधारमा विवाहित ८५.९० प्रतिशत र अविवाहित १४.१० प्रतिशत छन् ।

राष्ट्र बैंकले लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका तीन सय ८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारेको हो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस