काठमाडौं । जापानको उत्तरपूर्वी समुद्री तटमा शक्तिशाली भूकम्प गएको छ । सोमबार दिउँसो ७.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
मौसम विज्ञान एजेन्सीले ३० मिनेटभन्दा कम समयमै तटीय क्षेत्रहरूमा तीन मिटरसम्म अग्ला सुनामीका छाल ठोक्किन सक्ने अनुमान गरेको छ । जापानको समुद्री तटमा सुनामीका छालहरू देखिन थालिसकेका छन् ।
अधिकारीहरूले प्रभावित क्षेत्रका मानिसलाई कुनै ढिलाइ नगरी तत्काल उच्च भूभागतर्फ जान कडा निर्देशन दिएका छन् । सुनामीबाट मध्य प्रशान्त होक्काइडो तट, आओमोरी प्रिफेक्चर तट र इवाते प्रिफेक्चर तट सबैभन्दा बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
शक्तिशाली भूकम्पका कारण सार्वजनिक यातायातमा पनि प्रत्यक्ष असर परेको छ । राजधानी टोकियो र उत्तरी सहर आओमोरीबीच चल्ने बुलेट ट्रेन सेवा हाललाई पूर्ण रूपमा रोकिएको छ ।

Leave a comment