काठमाडौं । गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार एक वक्तव्य जारी गर्दै मिति २०८२ चैत १३ गतेदेखि सम्हाल्दै आएको जिम्मेवारीबाट तत्काल लागू हुने गरी अलग हुने घोषणा गरेका हुन् ।
गुरुङले पछिल्ला दिनहरूमा आफ्नो शेयरलगायत विषयमा नागरिक तहबाट उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,’ उनले वक्तव्यमा उल्लेख गरेका छन्।
उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘जेन्जी’ आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको पनि बताएका छन् । साथै, आफू सम्बद्ध विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै ‘ऋयलाष्अित या ष्लतभचभकत’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे ।
गुरुङले आफ्नो निर्णयलाई ‘नैतिक जिम्मेवारी निर्वाह’ को रूपमा व्याख्या गर्दै अब सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने बताएका छन्। उनले सञ्चारकर्मी, आम नागरिक र युवाहरूलाई परिवर्तनका लागि जिम्मेवार बन्न पनि अपिल गरेका छन् ।
उनको राजीनामापछि सरकारभित्र थप राजनीतिक तरंग उत्पन्न हुने अनुमान गरिएको छ ।

Leave a comment