झापा । मेचीनगर नगरपालिकाले वडा नं ७ भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण तथा कटान रोकथामका लागि प्राकृतिक तटबन्धको रूपमा चार हजार बाँसका बिरुवा रोपेको छ ।
परम्परागत रूपमा गरिने ढुंगा र जालीको महँगो तटबन्धको विकल्पका रूपमा बाँसका बिरुवा रोपेको मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए।
मेचीनगर नगरपालिका-७ स्थित पूर्वी निन्दा करिडोरबाट करिब पाँच किलोमिटर दक्षिणसम्म नदी किनारमा बाँसका बिरुवा रोपिएका हुन् ।
‘बाँसका बिरुवा बाढी नियन्त्रणका निम्ति उपयोगी हुन्छन्,’ उनले भने, ‘बाँसलाई सही तरिकाले हुर्काउन सकियो भने यसले बाढी र भूक्षय नियन्त्रण हुन्छ ।’
नगरपालिकाले चालु आर्थिक वर्षभित्रै मेचीनगर वडा नं. ७ र १५ का नदी तटीय क्षेत्रमा आठ हजार बाँसका बिरुवा रोप्ने योजना तर्जुमा गरेको छ ।
नदी कटान तथा भूक्षय रोक्न र वातावरण सन्तुलनका निम्ति राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समितिको सहयोगमा ‘बंगलादेशी काँडे बाँस’ प्रजातिका बिरुवा रोपिएका हुन् ।
झापामा नदी नियन्त्रणका लागि बाँसमा आधारित जैविक तटबन्धको प्रयोग यसअघि कनकाई नगरपालिकामा गरिएको थियो । जिल्लाका अन्य नदी किनारमा पनि बाँस तथा भेटिभर (एक प्रकारको जरा फैलिने घाँस) प्रयोग गरेर कटान रोक्ने प्रयास हुँदै आएको छ ।
कनकाई नदीको तटीय क्षेत्रअन्तर्गत शिवसताक्षी र झापा गाउँपालिका क्षेत्रमा विगतमा बाँस र भेटिभर रोपेर जैविक तटबन्ध निर्माण गरिएको थियो । यसले नदीको धार परिवर्तन हुनबाट जोगाएको छ ।
यसैगरी, मेचीनगरको हँडिया र भद्रपुर नगरपालिका क्षेत्रमा पर्ने नदी किनारमा पनि स्थानीय उपभोक्ता समिति र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा बाँसका बिरुवा रोपिएका थिए । यसले पनि भूक्षय नियन्त्रण गरेको छ ।
मावा र रतुवा नदी आसपासका क्षेत्रमा दमक नगरपालिका र कमल गाउँपालिकाले पनि चुरे क्षेत्रबाट आउने भेल नियन्त्रणका लागि बाँस र अम्रिसो रोपणलाई प्राथमिकता दिएका छन् ।
बाँसका जराले माटोलाई मजबुत रूपमा समात्ने भएकाले तीव्र बहावले समेत कटान गर्न नसक्ने विशेषज्ञहरूको भनाइ छ । ढुंगा-जालीको तटबन्धको तुलनामा बाँसको तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री हुने मानिन्छ ।

Leave a comment