काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई निवेदन दिन आग्रह गरेको हो।
सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार सीईओ नियुक्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्न आवेदन आह्वान गरिएको जनाइएको छ। उम्मेदवारको छनोट शैक्षिक योग्यता, व्यावसायिक अनुभव तथा पेशागत क्षमताका आधारमा गरिनेछ।
आवेदक नेपाली नागरिक हुनुपर्नेछ। साथै, मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनमध्ये कुनै क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव पनि आवश्यक छ।
उमेरको हकमा आवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएको भए आवेदन दिनुभन्दा कम्तीमा तीन महिनाअघि त्यस्तो अनुमति त्याग गरेको प्रमाण वा स्वघोषणा पेश गर्नुपर्नेछ। साथै, कानुनअनुसार अयोग्य नभएको स्वघोषणा पनि अनिवार्य गरिएको छ।
आवेदनसँग नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव खुल्ने कागजात, बायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइजका दुईवटा फोटो तथा लगानीसम्बन्धी रणनीति र कार्ययोजना समावेश गर्नुपर्नेछ।
कार्ययोजनामा नेपालमा लगानीको वर्तमान अवस्था र सम्भावनाको विश्लेषण, लगानी बोर्डको सबल–दुर्बल पक्ष तथा अवसर–चुनौती (क्ध्इत् ब्लबथिकष्क) र लगानी प्रवर्द्धनका लागि रणनीतिक खाका समेटिएको हुनुपर्नेछ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनसम्म आवेदन बुझाउन पाइनेछ।
इच्छुक उम्मेदवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सामाजिक तथा भौतिक पूर्वाधार विकास शाखा, सिंहदरबारमा निवेदन पेश गर्न सक्नेछन्। छनोट प्रक्रिया र मूल्याङ्कनसम्बन्धी थप विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र लगानी बोर्ड नेपालको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ।

Leave a comment