काठमाडौं । शाओमी नेपालले इटहरी र नारायणगढमा आफ्ना नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले धरानलाइन, इटहरी तथा लायन्सचोक, नारायणगढमा स्थापना गरिएका सर्भिस सेन्टरमार्फत ग्राहकलाई अझ सहज, छिटो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने जनाएको छ।
नयाँ सर्भिस सेन्टरबाट शाओमीका स्मार्टफोन, स्मार्टवाच, फिटनेस ब्यान्ड, इयरफोन, हेडफोन तथा विभिन्न इन्टरनेट अफ थिङ्स (आईओटी) उपकरणको मर्मत, प्राविधिक सहयोग र सेवा उपलब्ध हुनेछ। साथै, जेनुइन स्पेयर पार्ट्स प्रयोग गरी भरपर्दो सेवा प्रदान गरिने कम्पनीको भनाइ छ।
यी सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रालिले गर्नेछ। रमेश कर्पअन्तर्गत रहेको टेलिडाइरेक्टले नेपालभर शाओमीका आधिकारिक बिक्रीपछिका सेवा सञ्चालन गर्दै आएको छ।
इटहरीस्थित सर्भिस सेन्टरमा ग्राहकका लागि विशेष ‘कस्टमर एक्सपेरियन्स जोन’ पनि स्थापना गरिएको छ। यस जोनमा ग्राहकले शाओमीका विभिन्न उत्पादन प्रत्यक्ष रूपमा हेर्न, प्रयोग गर्न तथा अनुभव गर्न सक्नेछन् । आधुनिक डिजाइन र सुविधासहित तयार गरिएको यो क्षेत्रले अन्य सर्भिस सेन्टरको तुलनामा थप सहज र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नयाँ सर्भिस सेन्टर उद्घाटनको अवसरमा ग्राहकका लागि आकर्षक छुट योजना पनि छिट्टै सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । यससम्बन्धी थप जानकारी शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालमार्फत उपलब्ध गराइने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा टेलिडाइरेक्ट प्रालिका जनरल म्यानेजर दीपक श्रेष्ठले इटहरी र नारायणगढमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुले शाओमीका ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । उनले ग्राहकको विश्वासलाई थप मजबुत बनाउँदै देशभर बिक्रीपछिको सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

Leave a comment