आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट सार्वजनिक

१५ जेठ २०८१ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै कूल  विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात् कूल विनियोजनको १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ अर्थात् १९ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
      
यो बजेट अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१ दशमलव ५६ प्रतिशतले बढी हो । कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ  चार खर्ब आठ अर्ब ८७ करोड रुपैयाँ  विनियोजन गरिएको छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये  राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यहोरिने छ र बाँकी वैदेशिक ऋणबाट दुई खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ र आन्तरिक ऋणबाट तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोरिने छ ।


शेयर गर्नुहोस