बैंकको खबर । बैंकहरूले ब्याजदर घटाउनुको मुख्य कारण भनेको बजारमा निक्षेप बढी हुनु र कर्जाको माग कम हुनु हो। हाल वित्तीय प्रणालीमा तरलता प्रशस्त छ तर ऋण लिने ग्राहकको कमी छ । प्रतिस्पर्धा घटेपछि बैंकहरूले सस्तो ब्याजदरमा ऋण प्रवाह गरेर माग बढाउन खोजिरहेका छन्।
हाल वित्तीय प्रणालीमा पर्याप्त तरलता उपलब्ध भए पनि निजी क्षेत्र, उद्योग–व्यवसाय र व्यक्तिगत स्तरमा ऋण लिने प्रवृत्ति कमजोर बनेको छ। यसले गर्दा बैंकहरूमा रकम थुप्रिँदै गएको छ तर कर्जा विस्तार सीमित छ। यस्तो अवस्थामा उच्च ब्याजदर कायम राख्दा ऋण माग झन् घट्ने भएकाले बैंकहरूले ब्याजदर घटाएर ग्राहक आकर्षित गर्ने रणनीति लिएका छन्। साथै, नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले पनि तरलता सहज बनाएको छ, जसले ब्याजदरलाई तल झार्न मद्दत पुर्याएको छ।
मुख्य कारणहरू
अधिक तरलता
हाल बैंकिङ प्रणालीमा निक्षेप धेरै छ तर त्यति नै अनुपातमा कर्जाको माग हुन सकिरहेको छैन । त्यसैले बजारमा पैसाको आपूर्ति बढी देखिन्छ । पैसाको आपूर्ति बढी र माग कम हुँदा ब्याजदर स्वाभाविक रूपमा घट्छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले बैंकिङ प्रणालीमा ९ खर्ब २५ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । बैंकहरुले ७२ खर्ब २८ अर्ब निक्षेप संकलन गरी ५५ खर्ब ८० अर्ब ऋण प्रवाह गरेका छन् । कुल निक्षेप संकलनको ९० प्रतिशत (सिडी रेसियो)सम्म ऋण प्रवाह गर्न पाउने व्यवस्था छ । तर अहिले सिडी रेसियो ७६.२० प्रतिशत छ । बैंकहरुले कुल ६५ खर्ब पाँच अर्ब रुपैयाँ लगानी गर्न पाउने अवस्था छ । तर कर्जाको माग नै न्यून भएपछि प्रणालीमा लगानीयोग्य पैसा थुप्रिएको स्थिति छ ।
कर्जाको माग कमजोर हुनु
निजी क्षेत्रको लगानी विस्तार, उद्योग–व्यवसायको नयाँ प्रोजेक्ट, र उपभोक्ताको ऋण माग अपेक्षा अनुसार बढ्न सकेको छैन। कर्जा माग नभएपछि बैंकहरूले सस्तो ब्याजमा ऋण दिनुपर्ने हुन्छ। त्यसैले पछिल्लो केही महिना यता बैंकहरुले निक्षेपको ब्याज घटाउँदै लगेका हुन् ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको प्रभाव
बजारमा पैसा थुप्रिदै गएपछि राष्ट्र बैंकले उपभोग बढाउने नीति लिएको छ । त्यसका लागि केन्द्रीय बैंकले ब्यजदर घटाएर उपभोग बढाउन प्रोत्साहन गर्न खोजेको छ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीमा ब्याजदर घटाउने वातावरण बनाउन निक्षेप संकलन, तरलता व्यवस्थापन, र नीतिगत ब्याजदर घटाएको छ। यसले बैंकहरूको ब्याजदर घटाउन मद्दत गरेको छ।
निक्षेपको प्रतिस्पर्धा कम हुनु
विगतका वर्षमा जस्तो अहिले बैंकहरुबीच निक्षेप तानातान गर्नुपर्ने स्थिति छैन । डेढ वर्ष अघिसम्म बैंकहरुले निक्षेप ल्याउन एकआपसमा प्रतिस्पर्धा नै गर्नुपर्ने अवस्था थियो । त्यसबेला बैंकहरुले निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पु-याएका थिए । तर अहिले त्यस्तो स्थिति छैन ।
निक्षेप प्रसस्त भित्रिएको छ । तर कर्जाको माग बढ्न सकेको छैन । यस्तोबेला महँगो ब्याज दिँदा बैंकहरुको लागत बढ्न जान्छ । जसको असर नाफामा प्रतक्ष रुपमा पर्दछ । अहिले पर्याप्त निक्षेप भित्रिएकाले उच्च ब्याजदर दिनुपर्ने अवस्था छैन।
वैश्विक तथा आन्तरिक आर्थिक गतिविधि
बजारमा लगानी विस्तार नभएर व्यवसाय स्थिर हुँदा बैंकहरूको कर्जा प्रवाह सीमित छ। यस्तो अवस्थामा उच्च ब्याजदरले ग्राहक झन् टाढा बनाउँछ, त्यसैले बैंकहरूले ब्याजदर घटाएर ऋणको माग बढाउन खोजेका छन्।
अर्कोतर्फ ब्याजदर घट्दा उपभोग बढाउन मद्दत गर्छ । ब्याजदर घट्दा ऋण सस्तो, बचतको आकर्षण घट्ने र आय–रोजगारी बढ्ने कारणले उपभोग स्वाभाविक रूपमा बढ्छ।
निष्कर्ष
बैंकहरूले ब्याजदर घटाउनुको मूल कारण भनेको बजारमा पैसाको आपूर्ति धेरै हुनु नै हो । ऋण माग कम हुनु पनि अर्को कारण हो । यसलाई सामान्य भाषामा भन्ने हो भने बैंकमा पैसा थुप्रिएको छ, तर ऋण लिने ग्राहक पाइएको छैन । यस्तो बेला बैंकहरुले ब्याजदर घटाएर बचत निरुत्साहित गर्ने र उपभोग बढाउने, ऋणको माग बढाउन कोसिस गर्छन । अहिले नेपालको वित्तीय बजारमा यहि स्थिति छ ।
