बैंकको खबर । नेपाल राष्ट्र बैंकले २०८२ असार मसान्तसम्मको बैंक तथा वित्तीय संस्थाको प्रमुख वित्तीय सूचकहरू प्रकाशित गरेको छ । जसले वाणिज्य बैंकहरू, विकास बैंकहरू, र फाइनान्स कम्पनीहरूको समग्र कार्यसम्पादन देखाउँछन्।
क्रेडिट र निक्षेप अनुपात
कुल गार्हस्थ उत्पादनमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ११९.५९ प्रतिशत छ, जसमध्ये वाणिज्य बैंकहरूको १०७.११ प्रतिशत विन्दु हिस्सा छ । विकास बैंकको १०.३२ र फाइनान्स कम्पनीको २.१५ प्रतिशत विन्दु छ ।
कुल ऋण जीडीपीको तुलनामा ९१.६० प्रतिशत छ । जसमध्ये वाणिज्य बैंकहरूको सबैभन्दा बढी ८१.२७ प्रतिशत विन्दु योगदान छ । यस्तै विकास बैंकको ८.६२ र फाइनान्स कम्पनीको १.२१ प्रतिशत विन्दु छ ।
कर्जा/निक्षेप अनुपात ७६.५९५ रहेको छ , जसले प्रणालीमा पर्याप्त तरलता रहेको जनाउँछ।
तरलता स्थिति
बैंक तथा वित्तीय संस्ताले कुल निक्षेपको ८ प्रतिशत नगद र बैंक मौज्दात कायम राखेका छन् ।
कुल निक्षेपको १६.०५ प्रतिशत लगानी सरकारी धितोपत्रमा गरेका छन् ।
समग्र तरल सम्पत्ति÷निक्षेपअनुपात २४.९२ प्रतिशत छ ।
पूँजी पर्याप्तता
मुख्य पूँजी/जोखिम भारित सम्पत्ति १०.१३ प्रतिशत छ । जबकि कुल पूँजी÷जोखिम सम्पत्ति अनुपात १२.९५ प्रतिशत थियो । जसले बैंकिङ संस्थाहरूमा स्थिर पूँजी स्थितिलाई प्रतिबिम्बित गर्दछ।
वित्तीय पहुँच
बैंकिङ सञ्जाल विस्तार हुँदै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाको कुल संख्या ५४ वटा छन् । जसमध्ये वाणिज्य बैंकहरु २० वटा, विकास बैंकहरु १७ वटा र फाइनान्स कम्पनीहरु १७ वटा छन् । देशभर बैंक तथा वित्तीय संस्थका शाखा संख्या ६,५२२ वटा छन् ।
निक्षेप खाताहरू लगभग ५ करोड ९९ लाख पुगेका छन् । जसमा अधिकांश वाणिज्य बैंकहरूको हिस्सा छ ।
ऋण खाताहरू जम्मा १९ लाख ६६१ हजार पुगेका छन् ।
मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या २ करोड ७७ लाख भन्दा बढी पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूको संख्या २२ लाख पुगेको छ ।
डेबिट कार्ड धारकहरूको संख्या १ करोड ३६ लाख नाघेको छ ।
ब्याजदर
निक्षेपमा भारित औसत ब्याजदर ४.१९ प्रतिशत छ । जसमा स्थिर निक्षेप ५.७९ प्रतिशत, बचत निक्षेप ३.३७ प्रतिशत र कल निक्षेप १.०५ प्रतिशत छ ।
ऋणमा भारित औसत ब्याजदर ७.८५ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको यी सूचकहरूले नेपालको बैंकिङ क्षेत्र बलियो रहेको र वित्तीय पहुँचमा वृद्धि र स्थिर तरलता रहेको स्पष्ट देखिन्छ। कर्जा/निक्षेप अनुपातले स्वस्थ ऋण गतिविधिलाई संकेत गर्छ भने पूँजी पर्याप्तता अनुपातले यस क्षेत्रमा लचिलोपनलाई प्रतिबिम्बित गर्छ। डिजिटल बैंकिङ सेवाहरू (मोबाइल र इन्टरनेट बैंकिङ) को बढ्दो प्रयोगले देशभरि आधुनिक बैंकिङका अभ्यास बढ्दै गएको देखाउँछ ।
