काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि–आइपीओको नाम दिई सर्वसाधारणलाई शेयर बिक्री नगर्न चेतावनी दिएको छ । केही कम्पनीहरूले प्रि–आइपीओ भन्दै सर्वसाधारणलाई शेयर बिक्री गरेको पाइएपछि बोर्डले सोमबार सूचना निकालेर त्यस्तो शेयर बेच्न नपाउने जनाएको छ ।
केही कम्पनीहरूले निकट भविष्यमा आइपीओ निष्काशन गर्ने भन्दै सर्वसाधारणलाई शेयर खरिद गर्न प्रस्ताव गर्दै अनधिकृत रूपमा पैसा उठाइरहेको गुनासो प्राप्त भएको भन्दै बोर्डले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले त्यसरी शेयर किन्न प्रस्ताव आएमा नकिन्न पनि आग्रह गरेको छ ।
कानूनमा प्रि–आइपीओसम्बन्धी कुनै व्यवस्था नरहेको र धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१)मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार अनुमति लिएर मात्रै आइपीओ निष्काशन गर्न पाउने बोर्डले जनाएको छ । अनुमति नलिई शेयर खरिदबिक्री नगर्न बोर्डले सचेत गराएको छ । यस्तै सर्वसाधारण लगानीकर्तालाई पनि त्यस्तो शेयर खरिद नगर्न आग्रह गरेको छ ।
