काठमाडौं । जेनजी प्रदर्शनका क्रममा औद्योगिक र व्यापारिक प्रतिष्ठानमा भएको ठूलो क्षतिप्रति निजी क्षेत्रले गहिरो दुःख व्यक्त गर्दै हार नमान्ने प्रतिबद्धता जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले आन्दोलनका कारण व्यवसायिक क्षेत्रमा भएको तोडफोड र आगजनीबाट अन्दाजित ८० अर्बदेखि एक खर्ब रुपैयाँसम्मको क्षति भएको जानकारी दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्ता घटनाले निजी क्षेत्रलाई ठूलो धक्का पुर्याए पनि पुनः उठ्ने दृढता व्यक्त गरे ।
अध्यक्ष ढकालका अनुसार विगतका हरेक आन्दोलनमा व्यावसायिक प्रतिष्ठानहरूलाई लक्षित गर्दै तोडफोड र लुटपाट हुने गरेको छ। उनले यसपटकको घटनामा जेनजी अभियानका सहभागी नभइ अन्य समूहले नियोजित रूपमा आगजनी र लुटपाट गरेको हुनसक्ने आशंका व्यक्त गर्दै दोषीलाई छिटो कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।
महासंघले हालको घटनाले निजी क्षेत्रलाई ‘शून्य’ बनाइदिएको भन्दै तत्काल ठोस सुरक्षात्मक र आर्थिक कदम चाल्न सरकारलाई आग्रह गरेको छ। साथै, संस्थागत सामाजिक उत्तरदायित्व ९सिएसआर० खर्चको कानुनी प्रावधानलाई व्यावहारिक बनाउनुपर्ने र सुरक्षा क्षेत्रमा पनि सिएसआर खर्च गर्न अनुमति दिनुपर्ने सुझाव दिएको छ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्दोलनका हरेक चरणमा निजी क्षेत्र नै सबैभन्दा बढी प्रभावित हुने गरेको उल्लेख गर्दै क्षतिपूर्ति सहज बनाउन बिमा भुक्तानी प्रणाली सुधार्नुपर्नेमा जोड दिए। साथै, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन रणनीति बनाएर सहुलियतपूर्ण कर्जा र सुशासनको प्रत्याभूति गर्नुपर्ने मागसमेत राखे।
निजी क्षेत्रका प्रतिनिधिहरूले राजनीतिक परिवर्तनका आन्दोलनमा बारम्बार मारमा पारे पनि क्षतिपूर्ति र सुरक्षाका प्रभावकारी व्यवस्था नहुँदा व्यवसायीहरूको मनोबल कमजोर भएको जनाउँदै यसपटक भने राज्यले ठोस कदम चाल्ने अपेक्षा राखेका छन्।
