काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टक प्रस्थान गरेका छन् । उनीहरू इस्लामाबाद समझदारीपत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन गएको, विदेश मन्त्रालयले जनाएको छ ।
जुन १७ मा इस्लामाबाद एमओयूमा हस्ताक्षर भएपछि पहिलो औपचारिक संवादका रूपमा हुने उक्त वार्तामा इरान, संयुक्त राज्य अमेरिका र कतारका वरिष्ठ प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ ।
पाकिस्तानले सहजीकरण गरेको सम्झौता अन्तर्गत वाशिङ्टन र तेहरानबीच भएका समझदारीको कार्यान्वयनलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित रहने अपेक्षा गरिएको छ ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानले क्षेत्रीय संवाद र दीर्घकालीन शान्ति प्रवद्र्धनका प्रयासलाई निरन्तर समर्थन गर्ने उल्लेख गरिएको छ ।
वार्ताका क्रममा प्रधानमन्त्री शरिफले इरान, कतार, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । ती भेटहरूमा क्षेत्रीय स्थिरता र संवादप्रतिको पाकिस्तानको प्रतिबद्धता पुनः पुष्टि गरिने अपेक्षा गरिएको छ ।

Leave a comment