वाशिङ्टन डीसी । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको सूचना प्रविधि तथा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी कम्पनी फ्युजमेसिन्सले अमेरिकाको प्रतिष्ठित नास्डाक स्टक एक्सचेञ्जमा आधिकारिक रूपमा कारोबार सुरु गरेको छ।
करिब दुई वर्षअघि सीएसएलएम एक्विजिसन कम्पनीसँग मर्जर प्रक्रिया पूरा गरेको उक्त कम्पनीले बिहीबारदेखि ‘फ्युज’ नामबाट शेयर कारोबार सुरु गरेको हो।
कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. मास्केले नास्डाकमा सूचीबद्ध हुन पाउनु नेपाल र विश्वभरका नेपालीका लागि गर्वको विषय भएको बताएका छन् ।
नास्डाकले जारी गरेको विज्ञप्तिमा सिएसएलएम एक्विजेसन कम्पनी र फm्युजमेसिन इन्कबीचको साझेदारी प्रक्रिया पूरा भई बिहीबारदेखि नास्डाक एक्सचेन्जमा कम्पनीको कारोबार सुरु भएको उल्लेख गरिएको छ।
फ्युजमेसिन्समा हाल करिब ३५० जना कर्मचारी कार्यरत छन्, जसमध्ये २६० जना नेपालमा कार्यरत छन्। कम्पनीले कृत्रिम बौद्धिकता, मशीन लर्निङ र प्रविधिगत समाधान विकासमा विशेषज्ञता हासिल गरेको छ।
मर्जरपछिको नयाँ सञ्चालक समितिमा डा. समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन् । कम्पनीकी प्रमुख वित्त अधिकृत क्रिस्टिन च्याम्बर्स हुन्।
यो उपलब्धिसँगै नेपाली उद्यमीद्वारा स्थापित कम्पनीले विश्वको प्रतिष्ठित पूँजीबजारमा प्रवेश गर्दै अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नयाँ अवसरको ढोका खोलेको छ।
