बैंकको खबर । माछापुच्छ्रे क्यापिटल लिमिटेडले मंसिर १४ गतेदेखि ‘माछापुच्छ्रे एसआइपी योजना’का इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २ करोड इकाई अर्थात २० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याउन लागेको हो। उक्त योजना एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने खुलामुखी (ओपन–एन्डेड) प्रकृतिको स्किम हो।
योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। जसमा १४ प्रतिशत (७० लाख इकाई) कोष प्रबर्द्धक माछापुच्छ्रे बैंकका लागि तथा १ प्रतिशत (५ लाख इकाई) योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित राखिएको छ। सर्वसाधारण लगानीकर्ताले १ करोड २५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
इकाई आवेदन मंसिर १७ गतेसम्म दिन सकिनेछ। सो अवधिमा सबै इकाई बिक्री नभए आवेदन अवधि मंसिर २८ गतेसम्म स्वचालित रूपमा बढ्ने क्यापिटलले जनाएको छ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल नै रहेको छ। लगानीकर्ताले आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा ‘मेरो शेयर’ मार्फत सिआस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
यस स्किमका लागि केयर रेटिङ्ग नेपालले प्रबर्द्धकलाई ‘CARENP BBB+ Issuer Rating’ प्रदान गरेको छ भने योजना व्यवस्थापकले इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालबाट ‘IRN AMC Quality 3’ रेटिङ पाएका छन्।
