काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आर्थिक वर्ष २०८०/८१ का उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ।
आय विवरणका आधारमा विभिन्न क्षेत्रगत वर्गीकरण अनुसार सबैभन्दा बढी कर तिर्ने संस्थाहरू तथा व्यक्तिहरूलाई विभागले सम्मान प्रदान गरेको हो।
सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ ।
एकलौटी फर्ममध्ये सर्वाधिक आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेशनल, वस्तु निर्याततर्फ डावर नेपाल प्रालि, सूचना प्रविधि सेवातर्फ ओरिक्स नेपाल प्रालि र कृषि तथा पशुपन्छीजात उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रालि सम्मानित भएका छन् ।
बैंकिङ तथा बीमा क्षेत्रतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शिक्षण संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड सम्मानित भएका छन् ।
व्यक्तिगत आयकर श्रेणीमा सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाहलाई विभागले विशेष सम्मान प्रदान गरेको छ।
बरिष्ठ करदाताको अर्को सूचिमा ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म वार्षिक कारोबार गर्नेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा ५० करोड रुपैयाँसम्म कारोबार हुने कम्पनीतर्फ भीएफ सर्भिसेज प्रालि सम्मानित भएका छन्।
२०७६ देखि २०८२ सालसम्म लगातार सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने संस्थाको रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सम्मान गरिएको छ। विशेष उद्योगतर्फ उच्च कर तिर्ने कम्पनीको रूपमा युनिलिभर नेपाल पुरस्कृत भएको छ।
यस्तै, गत वर्ष उत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालयमध्ये बागलुङ कार्यालयलाई पनि सम्मान प्रदान गरिएको विभागले जनाएको छ।
