बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप संकलन बोलकबोलमार्फत ४२ दिनका लागि सो रकम तान्न लागेको जनाएको छ ।
कर्जाको माग न्यून भएपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिदै गएको छ । जसको कारण प्रणालीमा करिब ११ खर्ब रुपैयाँ अधिक तरलता छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्न सक्नेछन् । बोलकबोल गर्दा घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यो निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी पुस २३ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।
