काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (साउन ९ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले असार २७ गतेदेखि आईपीओ निष्काशन खुला गरेको थियो।
कम्पनीले जारी पूँजीको ४० प्रतिशत अर्थात २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको थियो । त्यसमध्ये एक हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ११ हजार ५५० कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकीमध्ये २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ ।
सेयर किन्न चाहने नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओको रेटिङ्गमा इक्रा नेपालले स्वस्तिक लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी ’ दर प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको जनाउँछ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
